बैंकिङ खबर/ दाङको सुपर लघुवित्तका सञ्चालक ज्योतिप्रसाद चौधरी कारागार चलान भएका छन् । लघुवित्तको करिब ३३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा उच्च अदालत तुलसीपुरले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । न्यायाधीशहरु अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले चौधरीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
चौधरीले सुरुमा सुपर लघुवित्तलाई एनजिओका रुपमा सञ्चालन गरेको थिए । पछि उनले उक्त एनजिओलाई लघुवित्तमा परिणत गरेका हुन् ।
एनजीओ हुँदा नै संस्थाका सञ्चालक समिति र कर्मचारीसहित ३३ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो ।
त्यसको एक वर्षपछि लघुवित्तमा संस्था लघुवित्तमा परिणत भएपछि फेरि उनीहरुविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो र थप २३ जनालाई प्रतिवादी बनाइएको थियो । जसमध्ये ९ जना अझै फरार छन् ।
मुख्य प्रतिवादी चौधरीले यहि पुस २१ गते अदालतमा आत्मसमर्पण गरेका थिए । सोमबार नै भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । उनले नक्कली ऋणी खडा गरी बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोप लागेको छ ।