बैंकिङ खबर/ लघुवित्त संस्थामा १ प्रतिशतभन्दा धेरै सेयर धारण गरेको सेयरधनीको एकाघर परिवारका सदस्यले सोही लघुवित्तमा कर्मचारीका रूपमा काम गर्न नपाउने भएका छन् ।
यसअघि ५ प्रतिशत सेयर धारण गर्ने सेयरधनीका एकाघर परिवारले सोही संस्थामा कर्मचारी हुन नपाउने व्यवस्था थियो । तर, अब सेयरधनीका एकाघर परिवारका सदस्यलाई सोही संस्थामा कर्मचारी हुन नेपाल राष्ट्र बैंकले थप कडाइ गरेको हो ।
लघुवित्त संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशिका संशोधन मार्फत उक्त व्यवस्था गरेको हो । यस्तै राष्ट्र बैंकले लघुवित्त संस्थामा ५ प्रतिशत वा त्यसभन्दा माथि सेयर धारण गर्ने सेयरधनीको एकाघर परिवारका सदस्यलाई सोही संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न रोक लगाएको छ ।
‘संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्य सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा बाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्ति/पुनर्नियुक्ति हुन योग्य हुने छैन,’ राष्ट्र बैंकको निर्देशनमा छ, ‘चुक्ता पूँजीको ५ प्रतिशत वा सोभन्दा बढी हुने गरी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघर परिवारका सदस्य सो संस्थाको कार्यकारी प्रमुखको पदमा समेत नियुक्ति/पुनर्नियुक्ति हुन योग्य हुने छैन ।’