January 3rd, 2025

अध्यक्ष र सीईओले व्यक्तिगत लाभ हुने क्रियाकलाप गरेका छैननः मातृभूमि लघुवित्त

बैंकिङ खबर/ मातृभूमि लघुवित्त वित्तीय संस्थाले विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण गराएको छ । संस्थाले एक विज्ञप्ति निकाल्दै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले व्यक्तिगत लाभ हुने कुनै क्रियाकलाप नगरेका दाबी गरेको छ । संस्थामा हुने गरेका आर्थिक हिनामिना तथा अपचलन जस्ता क्रियाकलापलाई निस्तेज पार्ने र संस्थागत सुशासन कायम गर्ने कार्यको नेतृत्व संस्थाले गर्दै आएकाले सञ्चार माध्यममा त्यसलाई गलत ढंगका प्रचार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘निहित स्वार्थ पूरा नहुने गलत प्रवृत्तिका व्यक्तिहरुको निशानामा पर्दै झुटा आरोप लगाएर विभिन्न समयमा अफवाह फैलाउने र गलत लान्छना लगाउने काम भएको छ । काम गर्ने सन्दर्भमा कतिपय व्यवस्थापकीय त्रुटि हुन सक्छन् तर, समाचारमा संस्थाबारे उठेका आर्थिक हिनामिनाको गलत आरोपलाई पूर्ण रुपमा खारेज गर्दछौं,’ संस्थाले विज्ञप्तिमार्फत भनेको छ । उजुरीकर्ताका झुटा आरोपलाई स्रोत मानी विभिन्न मिडिया तथा सामाजिक सन्जालमा आएका समाचारको खण्डन गर्दै ती सम्पूर्ण आरोप पूर्ण रुपमा असत्य भएको संस्थाको दाबी छ ।

यी सबै आरोपमाथि नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षणका क्रममा विस्तृत छानबिन भइसकेका विषयलाई जनमानसमा भ्रम छर्ने उद्देश्यका साथ मिडियामा ल्याइएकाले सबै आरोप कपोलकल्पित र निराधार भएको लघुवित्तले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

Press Release