मंगलबार थोरै भएपनि बढेको सेयर बजार बुधबार पुनः घटेको छ । दिनभरिमा नेप्से परिसूचक ०.५७ अंकले घटेको हो । सुरुमा निकै उतारचढाव भएको बजार बजार खुलेको तेस्रो घण्टामा १५४८ अंकसम्ममा झरेकोमा पछिल्लो एक घण्टामा सम्हालिँदै १५५३.९४ अंकमा पुगेर बन्द भएको छ । जलविद्युत्, उत्पादनमूलक र अन्य समूहबाहेक बुधबार कारोबार भएका सबै समूहहरु घटेका छन् । सबैभन्दा धेरै होटल समूह २९.५९ अंकले घटेको छ भने बीमा १७.०५ अंकले घटेको छ । बैंकिङ, विकास बैंक र फाइनान्स क्रमशः ०.८४, ०.७२ र ९.८३ अंकले घटेका छन् । जलविद्युत्, उत्पादनमूलक र अन्य भने क्रमशः ३६.५६, ९.७८ र १.७४ अंकले बढेका छन् ।
परिसूचक रातो भएसँगै कारोबार रकम पनि उल्लेख्य रुपमा घटेको छ । मंगलबार ७७ करोडको कारोबार भएको बजार बुधबार ५० करोडको कारोबारमा सीमित भएको छ । दिनभरिमा १३७ वटा कम्पनीको छ लाख ८० हजार नौ सय ८१ कित्ता सेयर तीन हजार सात सय ३६ पटक खरिदविक्री हुँला कुल ५० करोड ७६ लाख ६३ हजार छ सय १७ रुपैयाँ पुँजी परिचालन भएको हो ।
सबैभन्दा धेरै कारोबार भएको शिखर इन्स्योरेन्सको पाँच करोड ३२ लाख रुपैयाँको कारोबार हुँदा एभरेष्ट बैंक र सिद्धार्थ बैंकको तीन करोड ६० लाखमाथिको कारोबार भएको छ भने देवः विकास बैंकको पौने तीन करोड र बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड माथिको कारोबार भएको छ । मेगा बैंकको एक करोड ८६ लाखको कारोबार भएको छ भने सिटिजन्स बैंकको डेढ करोडको कारोबार भएको छ । सिद्धार्थ इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स, गरिमा विकास बैंक लगायतको पनि एक करोडमाथिको कारोबारम भएको छ ।
एनबि इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ८.७० प्रतिशतका दरले सम्पत्ति बढाउँदा हिमालयन डिस्टिलरी र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ७.७२ र ७.७० प्रतिशतका दरले कमाएका छन् । मिसन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक र लक्ष्मी लघुवित्तका सेयरधनीले क्रमशः ६.६७, ६.२१ र ५.८७ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स, चिलिमे हाइड्रो, युनियन फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
कर्णाली डेभलपमेन्ट बैंक र ललितपूर फाइनान्सका सेयरधनीले ९.७८ र ९.७२ प्रतिशतका दरले गुमाउँदा अरुण फाइनान्स र पोखरा फाइनान्सका सेयरधनीले क्रमशः ८.२२ र ८.०५ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सका सेयरधनीले ५.३२ प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी फाइनान्स, नमस्ते वित्तीय संस्था, नेपाल ग्रामीण विकास बैंक, वरियन्टल होटल्स, रिलायन्स फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



