बैंकिङ खबर/ अब जीवन बीमा कम्पनीले दाबी भुक्तानीबापत बिमित तथा हकवालालाई भुक्तानी गर्नुपर्ने रकमबाट अर्काे बीमा गराउन नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले एक परिपत्र जारी गर्दै त्यसमा रोक लगाएको हो ।
बीमा कम्पनीहरूले दाबी भुक्तानीबापत दिनुपर्ने रकमबाट अर्काे बीमा गराउँदै आएको गुनासो आएपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । त्यसबापतको शुल्क दाबी रकमबाट कटाएर बाँकी रकम बिमित तथा हकवालालाई भुक्तानी दिने गरेका थिए । तर, अब दाबी भुक्तानी रकम अर्काे बिमालेखको शुल्कमा समायोजन गर्न नपाउने प्राधिकरणको निर्देशन छ ।
कम्पनीले बिमित तथा हकवालालाई छुट्टै बिमा गराउन पाउनेछन् । तर, त्यसबापतको शुल्क छुट्टै प्राप्ति गर्नुपर्ने बताइएको छ । भुक्तानीबापतको रकमबाट समायोजन गर्न नपाइने प्राधिकरणको भनाइ छ । त्यसबापतको सबै रकम सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्नुपर्ने निर्देशनमा उल्लेख छ । ‘जीवन बिमकले दाबी भुक्तानीबापत बिमित वा हकवालालाई कानुनबमोजिम भुक्तानी गर्नुपर्ने रकम बिमित वा हकवालाको बैंक खातामा दाखिला नगरी अन्य बिमालेख जारी गरी रकम समायोजन गर्न पाइनेछैन,’ निर्देशनमा भनिएको छ ।
यस्तै, कम्पनीले बीमा दाबी निवेदन प्राप्त भएपश्चात् सोको दर्ता गरी, यथाशीघ्र बिमितलाई एसएमएसमार्फत जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ । निर्जीवन बिमाको क्षति मूल्यांकन गर्न सर्भेयर खटाँउदा सोको जानकारी पनि एसएमएसमार्फत बिमितलाई गराउनुपर्ने बताइएको छ । कम्पनीले सर्भे प्रतिवेदन प्राप्त भएपश्चात् पनि एसएमएसमार्फत बिमितलाई जानकारी गराउनुपर्ने प्राधिकरणको भनाइ छ ।
साथै, यसको दाबी भुक्तानी पनि सम्बन्धित पक्षको बैंक खातामै गर्नुपर्ने निर्देशनमा उल्लेख छ । त्यसमा डिजिटल माध्यम प्रयोग गरेरसमेत भुक्तानी गर्न सकिने प्राधिकरणको भनाइ छ ।