बैंकिङ खबर/ सम्पदा लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय रामटारले बाढीपीडितहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । राहत कार्यक्रम सिन्धुलीको सुनकोशी गाउँपालिका रामटारस्थित संस्थाको शाखा कार्यालय रामटारमा मिति २०८१।०८।२२ गते संचालन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुनकोशी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष सुरथ कुमार बसेल, अतिथिहरुमा सोही गाउँपालिका वडा नं ५ का चन्द्र बहादुर श्रेष्ठ, वित्तीय संस्थाको असुली मुकाम नार्गाजुनको अधिकृत प्रेम बहादुर कार्की लगायत सुरक्षा निकाय प्रतिनिधि तथा अन्य समाजसेवी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अविरल वषाले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं १,२,३,४ र ५ काभ्रे जिल्लाको रोशी गाउँपालिकाको वडा नं ११ र १२ र रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा नं १ र २ का बाढी पहिरोबाट अतिप्रभावित शाखा कार्यालय रामटारमा आवद्ध सदस्यहरुलाई राहत स्वरुप जनही १ बोरा चामल, २ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुनका दरले वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले सम्पदा लघुवित्त संस्थाले कर्जा बचत मात्र नभई दुःख परेका सदस्यहरुलाई यसरी राहत वितरण गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । संस्थाको पहुँच हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालयमार्फत १ लाख ७८ हजार भन्दा बढी सदस्यहरुमा सेवा प्रवाह रहेको शाखा प्रमुख सविना सेन्चुरीले जानकारी गराएका थिए ।