बैंकिङ खबर/सम्पदा लघुवित्त वित्तीय संस्था लि. र शुभ स्वस्तिक हस्पिटल,बर्दिबास महोत्तरी सम्पदा लघुवित्तका सदस्य र कर्मचारीहरुलाई उपचार गराउँदा विशेष छुट गर्नेबारे सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।
बर्दिबासस्थित होटल बिनायकमा वित्तीय संस्थाद्धारा संचालित शाखा प्रमुखहरुको तालिम कार्यक्रममा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल र शुभ स्वस्तिक हस्पिटल,बर्दिबासको तर्फबाट प्रमुख प्रशासक खोम बहादुर कार्कीले सम्झौता पत्रमा हस्ताक्षरण गरेका हुन् ।
वित्तीय संस्थाको कायक्रम रहेका महोत्तरी,सर्लाही र धनुषा जिल्ला अन्तर्गतका सदस्यहरुले विभिन्न स्वास्थय उपचार,औषधि खरीद,अप्रेशन,बेड चार्ज,ल्याब परिक्षण समेतमा विशेष छुटको लाभ लिन सकिने यस सम्झौताले विपन्न परिवारलाई अस्पतालको तर्फबाट छुट सहयोग तथा राहत गराउन अवसर प्रदान गरेकोमा वित्तीय संस्थालाई प्रमुख प्रशासक खोम बहादुर कार्कीले हार्दिक धन्यवाद तथा अभार प्रकट गरेका थिए ।
त्यसैगरी वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले स्वास्थ्य उपचारमा सदस्य र कर्मचारीलाई विशेष छुटको व्यवस्था गरिदिनु भएकोमा अस्पताल प्रशासन टिमलाई संस्थाको तर्फबाट बिशेष धन्यवाद तथा अभार प्रकट गरेका थिए ।
कार्यक्रममा वित्तीय संस्थाको ५४ वटा शाखा कार्यालयहरुको शाखा प्रमुख, असुली तथा अनुगमन अधिकृत लगायत केन्द्रीय कार्यालयको कर्मचारहिरुको समेत गरि ६५ जनाको सहभागिता रहेको थियो । वित्तीय संस्थाले हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालय मार्फत १ लाख ७८ हजार जना सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।