बैंकिङ खबर/ सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ। भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार अपराह्न पत्रकार सम्मेलनगरी सो जानकारी गराएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले एक लाखभन्दा कम बचत भएकाहरुको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको स्पष्ट पारे।
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो। मन्त्री अधिकारीले मागदाबी गर्ने बचतकर्ताहरुको संख्या ६ हजार ५९३ जनाको रकम चुक्ता गरिएको बताए। उनले भने, ‘हालसम्म यो मागदावी गर्दै दुई वटा मिलाएर टोटलमा ६ हजार १५५ जनाको पुरै चुक्ता आजको मितिबाट पूरै चुक्ता भएको जानकारी गराउँछौँ। आज हामीले उहाँहरुको खाता नम्बर राखेका छौँ। त्यही खातामा पठाउने काम हुन्छ। आज, भोलि र पर्सिसम्म त्यो पठाउने काम हुन्छ। र, त्यो टोटल रकम १ अर्ब, ४८ करोड, ५१ लाख ३७ हजार ७१५ हुन आउँछ। यति हामीले वितरण गरेको अवस्था छ। यो चाहिँ पूरै चुक्ता भएको हो। यो एक लाखभन्दा मुनिको रकम पर्छ। अब धेरै भएको तर सबै दिने अवस्था नरहेको ४३८ जना हामीले बाँडेका छौँ। त्योमध्ये ३ करोड १ लाख ९९ हजार १८४ रकम छ। यसरी टोटलमा अहिले केही राहत पाउने, केही पुरै चुक्ता हुने गरेर ६ हजार ५९३ संख्या भएको छ। र, १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम वितरण भएको अवस्था म यहाँहरुलाई जानकारी गराउन चाहन्छु।’
सरकारी तथ्यांकअनुसार मागदावी गर्ने बचतकर्ता ६२ हजार ७६० रहेका छन्। उनीहरुमध्ये ६ हजार ५९३ जनाको बचत रकम फिर्ता गरिएको छ। अब बाँकी ५६ हजार ६०५ जनाको बचत रकम सम्बन्धित सहकारीको पूँजी, भौतिक सम्पत्ति, लगानी गरेको ऋण असुलीको माध्यामबाट फिर्ता गराइने पनि मन्त्रालयले जनाएको छ। मन्त्री अधिकारीले सम्बन्धित सहकारीबाटै ती रकमहरु असुलगरी बचतकर्तालाई दिने गरी काम अघि बढाइएको पनि बताए।