October 20th, 2024

बैंक ब्याजदर औसत ०.२१ प्रतिशत विन्दुले कम

बैंकिङ खबर/ कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत विन्दुले घटेको छ ।

असोजमा यी बैंकको अधिकतम व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ । यसअघि भदौमा अधिकतम व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो । कात्तिकमा एउटा बैंक सानिमाले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर असोजको तुलनामा बढाएको छ । त्यस्तै, १० बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले स्थिर राखेका छन् ।

निक्षेपको ब्याज घट्दा लागत कम भएर आधार दर पनि कम हुन्छ । आधार दर कम भएपछि ऋणको ब्याज थप सस्तो पर्ने हुन्छ । चाडपर्वको समयमा समेत कर्जाको माग अपेक्षित रुपमा नबढेपछि बैंकहरु घटाउन बाध्यजस्तै बनेका हुन् । गत वर्षदेखि कर्जाको माग बढ्न सकेको छैन, जसकारण कर्जा प्रवाह पनि धीमा छ ।

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाउनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टाण्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक छन् । स्थिर राख्नेमा ग्लोबल आइएमई, कुमारी, एसबीआई, नेपाल, इन्भेष्टमेण्ट मेगा, माछापुच्छे, एभरेष्ट, एनएमबि र प्रभु बैंक छन् ।

कात्तिकमा व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याजदर ७ र न्यूनतम ब्याजदर जम्मा ५.७५ प्रतिशत कायम भएको छ । लामो अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा केही उच्च ब्याजदर र छोटो अवधिको मुद्दति निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगतभन्दा कम्तीमा १ प्रतिशत विन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै, व्यक्तिगत रेमिटेन्स मुद्दतिमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

२०८१ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.५३ प्रतिशत, विकास बैंकहरुको ६.३१ प्रतिशत र वित्त कम्पनीहरुको ७.५५ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.०६ प्रतिशत, विकास बैंकहरुको ९.४३ प्रतिशत र वित्त कम्पनीहरुको १०.२७ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी २०८१ भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत, विकास बैंकहरुको १०.८९ प्रतिशत र वित्त कम्पनीहरुको १२.१४ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत, विकास बैंकहरुको १३.९९ प्रतिशत र वित्त कम्पनीहरुको १४.६८ प्रतिशत थियो ।