नमस्ते वित्तीय संस्था लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर आगामी पुस ८ गतेबाट निष्काशन हुने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड ७५ लाख रुपैयाँ बराबरका तीन लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले मंसिर २४ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने बताएको छ । जसअनुसार, मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । उक्त हकप्रद निष्काशन माघ १३ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । एनएमबी बैंक लिमिटेड र यसका शाखा कार्यालय तथा नमस्ते वित्तीय संस्था घोराइबाट उक्त हकप्रद भर्न पाइनेछ ।
हाल कम्पनीको चुक्तापुँजी तीन करोड ७५ लाख रुपैयाँ रहेको छ । हकप्रद वितराणपश्चात कम्पनीको चुक्ता पुँजी ७ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
यसबाहेक, कम्पनीले कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट २४ प्रतिशत बोनस र १.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत छ । उक्त प्रस्ताव पारित गर्न आगामी पुस ९ गते साधारणसभा बस्ने कम्पनीले जनाएको छ । उक्त बोनसपछि कम्पनीको चुक्ता पुँजी चार करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।