Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकमा पैसा राख्न बैंकहरु अनिच्छुक

२०८१ कार्तिक २ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकमा रकम राख्न अनिच्छुक देखिएका छन् । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले कार्तिक १ गते बजारबाट १०० अर्ब खिच्न खोज्दा बैंकहरुले ३२ अर्ब ५ करोड रुपैयाँ मात्र राखेका हुन् ।

राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले १३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत १०० अर्ब रकम खिच्नको लागि सूचना जारी गरेको थियो। तर यस बोलकबोलमा ८ वटा मात्रै बैंक तथा वित्तीय संस्था सहभागी भए भने जम्मा ११ वटा मात्रै प्रस्ताव परेको राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले ३२ अर्ब ५ करोड मात्रै प्रस्ताव गरेपनि राष्ट्र बैंकले त्यति रकम मात्रै निक्षेप संकलन गरेको छ ।

बैंकहरुले अधिकतम ३ प्रतिशत र न्युनतम २.९०६५ प्रतिशत ब्याजमा सो रकम राख्न प्रस्ताव गरेका थिए । राष्ट्र बैंकले भारित औसत ब्याजदरको रुपमा २.९९६२ प्रतिशत ब्याजमा सो रकम संकलन गरेको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था थियो।