October 2nd, 2024

इमेज सहकारी ठगी मुद्दाः मेयर देवकुमारलाई थुनामा पठाउन अदालतको आदेश

बैंकिङ खबर/सहकारी ठगीको आरोपमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख (मेयर) देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई  बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि मंगलबार थुनछेक बहस सकिएर पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्ष समेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्ध ‘रेड कर्नर’ नोटिस जारी भएको थियो ।

मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । मेयर नेपालीमाथि २ अर्ब बढी बचत रकम ठगीको आरोप छ ।