September 26th, 2024

मुद्रास्फीति र अर्थतन्त्रमा यसको प्रभाव

बैंकिङ खबर/ सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो ।

यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

बजारमा मुद्राको परिमाणमा वृद्धि भएपछि सँगसँगै वस्तु तथा सेवाको उत्पादन वा आकृति बढेन भने मुद्राको क्रयशक्ति कम हुन्छ र यही अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

अर्को शब्दमा वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य (क्रयशक्ति) घट्नु नै मुद्रास्फीति हो । यस्तो अवस्थामा वस्तु महँगो पर्ने भएकाले थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । सामान्यतयाः मुद्राको परिमाणमा वृद्धिले मात्र मुद्रास्फीतिको अवस्था नआउन सक्छ ।

यसको अर्थ मुद्राको परिमाणमा वृद्धिबाहेक अन्य विभिन्न कारणले पनि मुद्रास्फीति हुन सक्छ । जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ सोही वा सोभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा मुद्रास्फीति नहुन सक्छ । मुद्रास्फीतिको अवस्था त्यतिबेला मात्र सिर्जना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ ।

मुद्रास्फीतिका कारणः

माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि)

मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ।

क) केन्द्रीय बैंकले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैंकहरूले सिर्जना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि ।

ख) घाटाको सरकारी वित्त व्यवस्था

ग) जनसङ्ख्या वृद्धि

घ) कर कटौती

ङ) वैदेशिक ऋण, लगानी, सहायता र विप्रेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सिर्जना हुन्छ)

लागत वृद्धि मुद्रास्फीति (उत्पादन लागतमा वृद्धि)

उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सिर्जना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सिर्जना हुन्छ:

क) पुँजी लागतमा वृद्धि

ख) कच्चापदार्थको मूल्यमा वृद्धि

ग) ब्याजदरमा वृद्धि

घ) ज्यालादरमा वृद्धि

ङ) प्राकृतिक प्रकोप आदि ।

लगानीकर्तामा मुद्रास्फीतिको प्रभाव :

मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखिम लिन चाहँदैनन् । त्यस्तै धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।

मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोेत्साहित नहुन सक्छन् ।

सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।

मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । त्यसैले, लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।

नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने तयारी

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर नयाँ मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ । यसअघि आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्दै आएको थियो ।

नयाँ मूल्य सूचकांकमा राष्ट्र बैंकले प्रयोगमा नआएका १ सय ६ वस्तु हटाएर १ सय ३६ नयाँ वस्तु थप गरेको छ । यसअघि उपभोक्ता मूल्य सूचकांकको बास्केटमा ४ सय ८० वस्तु रहेकोमा नयाँ सूचकांकमा ५ सय २५ वस्तु कायम गरिएको छ। यस्तै कतिपय वस्तुको समूह समेत परिवर्तन गरेको छ।

अन्तर्राष्ट्रियस्तरमा अनुमान गर्न सकिने गरी राष्ट्र बैंकले नयाँ मूल्य सूचकांकको आधार बनाएको दाबी गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणका आधारमा राष्ट्र बैंकले तयार पारेको मूल्य, भार र सूत्र तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको तथ्यांक विभागको सहयोगमा उक्त नयाँ मूल्य सूचकांक तयार पारेको हो।

गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति मापन गर्नका लागि नयाँ तथ्यांक सहयोगी हुने विश्वास व्यक्त गरे । मुद्रास्फीतिको तथ्यांक र बजारको महँगी मेल नखाने गरेको गुनासोलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्यांक वृहत प्रकारको हुने र एउटा वस्तुको मूल्यमा भएको परिवर्तन नगन्य हुने गरेको बताए।

’अक्सर बजार वस्तुको मूल्यमा भएको परिवर्तन र राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्यांक मेल नखाएको भन्ने गुनासो आउने गरेको छ। जुन जायज पनि देखिन्छ। कुनै घटनाले काठमाडौं छिर्ने मालवाहक सवारी साधन रोकियो भने टमाटरको मूल्य एकै पटक ३०० प्रतिशतले बढ्न सक्छ। तर, त्यसको रिफलेक्सन राष्ट्र बैंकको तथ्यांकमा देखिँदैन। यसको प्रमुख कारण भनेको उपभोक्ता मूल्य सूचकांकमा राष्ट्र बैंकले भार प्रदान गरेको हुन्छ। उक्त भारसँग वस्तुको मूल्य गुणन गरेर राष्ट्र बैंकले औषत मूल्य सूचकांक निकाल्छ। जसले गर्दा त्यसको असर समग्र उपभोक्तामा आधारित मूल्य सूचकांकमा देखिँदैन। यसका लागि सम्बन्धित वस्तुको सूचीमा गएर हेर्नुपर्छ। त्यसमा बुझाइको केही कमी छ। यसलाई चिर्न राष्ट्र बैंक र सञ्चारकर्मीले आवश्यक भूमिका निर्वाह गर्नुपर्छ’, गभर्नर अधिकारीले बताए।

डेपुटी गभर्नर बम बहादुर मिश्रले नयाँ मूल्य सूचकांकले प्रदेश सरकारलाई समेत सहयोग गर्ने बताए । उनले आइएमएफको स्टान्डर अनुसार नै नयाँ मूल्य सूचकांक ल्याइएको बताए ।

नयाँ मूल्य सूचकांकले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने र अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।

’राष्ट्र बैंकले १० वर्षअगाडिको पुरानो सर्वेक्षणलाई हटाएर राष्ट्रिय तथ्यांक कार्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्यांक विभागको सहयोगमा नयाँ मूल्य सूचकांक सार्वजनिक गरेको छ। जसमा प्रयोगमा नभएका वस्तुहरू हटाएर अहिले बढी प्रयोगमा रहेका वस्तुहरू समावेश गरेर ५ सय २५ वस्तुसहितको नयाँ वस्तुको डालो बनाइएको छ। यसले तथ्यांकलाई थप पारदर्शी र यथार्थपरक बनाउन मद्दत गर्ने विश्वास राष्ट्र बैंकको छ’, डा.भट्टले बताए।

नेपालको अर्थतन्त्रमा आयातमा आधारित छ। नेपालमा नगण्य वस्तुमात्रै उत्पादन हुने गरेको छ। नेपालले कुल आयातको ६० प्रतिशत भारत र बाँकी वस्तु चीनलगायतका तेस्रो मुलुकबाट आयात गर्छ। जसले गर्दा नेपालको मुद्रास्फीति प्रमुखरुपमा भारतको मूल्यस्तरका आधारमा निर्धारित हुन्छ।

भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनियमय दर कायम रहेकाले पनि भारतीय अर्थतन्त्रले नेपाली मुद्रास्तरमाथि महत्वपूर्ण प्रभाव पार्दै आएको छ। यस्तै नेपाली उपभोग आन्तरिक रोजगारीभन्दा पनि वैदेशिक रोजगारी र विप्रेषणमा आधारित भएकाले नेपालको मुद्रास्फीति अन्तर्राष्ट्रिय उत्तारचढावमा पनि निर्भर हुने गर्दछ।

संघीय संरचनाअनुसार तथ्यांक संकलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रीय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो । राष्ट्र बैंकका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ ।