Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नियमसंगत चलाएमा सहकारीहरु डुब्दैनन् र कसैलाई डुबाउँदैनन् : प्रधानमन्त्री

२०८१ भाद्र २९ गते

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसंगत चलाएमा सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका छन् । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए ।

अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरुले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले सरकार अनियमतता, बेतिथि, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट गरे ।

‘विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो । स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरुमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरु छन् ।’
प्रधानमन्त्री ओलीले भने,‘समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस् । । समितिले सरकारलाई निर्देश गरोस् । त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।’