कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीका लागि २५ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम चुक्तापुँजी १९ करोड ८० लाखको २५ प्रतिशत अर्थात चार करोड ९५ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । बैंकले कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश पनि दिनेछ ।
त्यस्तै, बैंकले हाल कायम चुक्तापुँजीबाट नै ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर समेत निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा नौ करोड ९० लाख रुपैयाँ बराबरका नौ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बोनस र हकप्रद सेयर जारी गर्नेसम्बन्धि प्रस्ताव पारित गर्न कञ्चनले आगामी पुस ९ गते साधारणभा बोलाएको छ । साधारणसभा, हकप्रद र बोनस प्रयोजनका लागि बैंकले मंसिर ३० गतेदेखि पुस ९ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार, साधारणसभाबाट पारित हुने उक्त हकप्रद सेयर र बोनस सेयर मंसिर २९ गतेसम्म कायम सेयरधनीले मात्रै पाउनेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
साधारणसभामा बैंकले बोनस र हकप्रद सेयरपछि कायम हुने चुक्तापुँजीबाट पुनः १० बराबर तीनको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत लैजाने भएको छ । हाल १९ करोड ८० लाख रुपैयाँ पुँजी भएको बैंकले हकप्रद सेयर र बोनस सेयर जारी गरेपछि पुँजी ३४ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । उक्त चुक्तापुँजीबाट १० बराबर तीनको अनुपातमा पुनः हकप्रद सेयर जारी गर्दा बैंकको चुक्तापुँजी ४५ करोड रुपैयाँ नाघ्नेछ ।


