August 29th, 2024

सहकारी अपचलन आरोपित गाउँपालिका अध्यक्ष कुँवर २० लाख धरौटीमा रिहा

बैंकिङ खबर/ सहकारीको रकम अपचलनको अरोप लागेका बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर २० लाख धरौटीमा बिहीबार रिहा भएका छन् । थुनछेक बहसमा जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले पुर्पक्षको लागि कुँवर धरौटीमा रिहा भएको जिल्ला अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले बताए ।

सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्रको रकम अपचलन गरेको अरोपमा सम्पर्क बाहिर रहेका कुवँर आफै अदालत उपस्थित भएका हुन् । अदालतको माग गरेको धरौटी नगद बुझाएर कुँवर रिहा भएको शर्माले बताए ।

सूर्योदय बचत तथा ऋण सहकारीका प्रबन्धक ध्रुव नारायण श्रेष्ठले गत साउन १० गते बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेविरुद्ध रकम अपचलनको उजुरी दिएका थिए । गत साउन ११ गते नै वाग्लेलाई पक्राउ गरेको थियो भने वाग्लेकै बयानको आधारमा गत साउन २८ गते सेवा केन्द्रका संयोजक बिरुवा ७ का तारेन्द्रबहादुर केसी र पुतलीबजार नगरपालिका १४ का सन्ध्या भण्डारीलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो । कुँवर भने सम्पर्क बाहिर रहेका थिए ।

रकम अपचलनको अरोप लागेर पक्राउ परेका वाग्ले र केसीलाई भदौ ६ गते अदालतले जेल चलान गरेका थियो । भण्डारी एक लाख धरौटीमा रिहा भएका थिए भने कुँवरलाई अदालतमा हाजिर हुन भनिएको थियो ।