November 27th, 2016

सेयर बजारमा ६४.५५ अंकको पहिरो : पाँच कम्पनीका सेयरधनीले कमाए

stockसाताको पहिलो दिन नेप्से परिसूचक ६४.५५ अंकले घटेर १४६९.४८ अंकमा कायम भएको छ । सेयर किन्नेभन्दा बेच्नेको संख्या अत्याधिक बढ्न थालेपछि सेयर बजारले ओरालो गति लिएको हो । बजार खुलेको एक घण्टा नपुग्दै बजार ३ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो । कारोबार भएका सबै समूहहरु घटेका छन् । बीमा समूह मात्रै ५६२.९४ अंकले घटेको छ । होटल र जलविद्युत् क्रमशः १४६.०४ र १०४.२९ अंकले घटेका छन् । विकास बैंक, बैंकिङ र फाइनान्स क्रमशः ६५.७७, ५२.५४ र २६.७ अंकले घटेका छन् भने अन्य समूह १९.०८ अंकले घटेको छ ।  

सेयर बजार लगातार ओरालो लागेपछि नयाँ लगानीकर्ताहरु विस्तारै पछि हट्न थालेका छन् । यसले गर्दा कारोबार रकम ९५ करोड रुपैयाँमा सीमित भएको छ । दिनभरिमा १२८ वटा कम्पनीको १४ लाख ५९ हजार चार सय ४६ कित्ता सेयर छ हजार तीन सय २० पटक खरिदविक्रि हुँदा कुल ९५ करोड ६० लाख चार हजार १९ रुपैयाँ पुँजी परिचालन भएको छ ।

कुल कारोबारमध्ये एभरेष्ट बैंकको मात्रै ११ करोड १२ लाख ४० हजार पाँच सय ७८ रुपैयाँको कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको छ करोड र बैंक अफ काठमाण्डू लुम्बिनीको साढे चार करोड रुपैयाँभनदा बढीको सेयर कारोबार भएको छ । मिसन डेभलपमेन्ट बैंक प्रोमोटरको झन्डै चार करोडको कारोबार भएको छ भने सिद्धार्थ बैंकको तीन करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको पनि तीन करोडमाथिको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको दुई करोड ८१ लाख, कुमारी बैंकको दुई करोड ७७ लाख, नेशनल लाइफ इन्स्योरेन्सको दुई करोड ५६ लाख र नेपाल बंगलादेश बैंकको दुई करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

बजार घटेपनि पाँच वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले ९.९२ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । एनबी इन्स्योरेन्सका सेयरधनीले ३.८८, ओरियन्टल होटल्सका सेयरधनीले १.८४, रिडी हाइड्रोपावरका सेयरधनीले ०.४२ र तिनाउ डेभलपमेन्ट बैंकका सेयरधनीले ०.२५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् ।

हिमालयन जेनेरल इन्स्योरेन्स, साना किसान विकास बैंक, लक्ष्मी लघुवित्त, प्रिमियर इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने नेको इन्स्योरेन्स र लुम्बिनी जेनेरल इन्स्योरेन्सका सेयरधनीले ९.९९ प्रतिशतले गुमाएका छन् । किसान माइक्रोफाइनान्स, प्रभु इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सका सेयरधनीले ९.९८ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, डिप्रोस्क डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त विकास बैंक, अपि पावर कम्पनी, एनएलजी इन्स्योरेन्स, सोल्टी होटल, शिखर इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.९५, ९.९४, ९.८९, ९.८७, ९.७८, ९.६८, ९.५९ र ९.४२ प्रतिशतले गुमाएका छन् । सेती फाइनान्स, सगरमाथा फाइनान्स, देवः विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त, वोमी माइक्रोफाइनान्स, मुक्तिनाथ विकास बैंक, नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, स्वाबलम्बन विकास बैंक लगायतले पनि धेरै गुमाएका छन् ।