August 11th, 2024

ब्याजको प्रलोभनमा बैंकको पैसा सहकारीमा सारे, आफ्नै उपचारका लागि पैसा नहुँदा निधन !

बैंकिङ खबर/ आफैले सहकारीमा जम्मा गरेको रकम झिक्न नपाउँदा उपचार अभावमा मृत्युवरण गर्न परेको भन्दै काठमाडौंमा आइतबार प्रदर्शन गरिएको छ । वीर अस्पतालमा ५ लाख रुपैयाँको अभावले राजेन्द्र स्थापितको शनिबार मृत्यु भएको उनका आफन्तहरूले जनाएका छन् ।

स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् ।

निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकको रकम सहकारीमा सार्न लगाएर ठगी गरेको आफन्तले बताए ।

सहकारीमा जम्मा गरेको पैसा नै झिक्न नपाएर मृत्यु हुनु विडम्बनापूर्ण भएको राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले बताए ।

अहिले प्रदर्शनकारीहरू शान्ति वाटिका र भद्रकाली क्षेत्रमा कफिन बोकेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
काठमाडौंको न्युरोडमा रहेको युवा बचत तथा ऋण बहुउद्देश्यीय सहकारीमा स्थापितले १ करोड ३६ लाख रुपैयाँ जम्मा गरे पनि आफ्नै उपचारका लागि पैसा झिक्न नपाएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए ।

उनका अनुसार अहिले स्थापितको शव वीर अस्पतालमै रहेको छ । सडकमा प्रदर्शन भएपछि प्रहरीले सहकारीका सञ्चालकविरुद्ध जाहेरी दर्ता गरेको पनि उनले जानकारी दिए । स्थापित स्नायुसम्बन्धी समस्याले ग्रसित रहेको पनि उनले बताए ।