August 10th, 2024

सहकारीका तीन सय सञ्चालक कारागारमा

बैंकिङ खबर/ सहकारी ठगीको आरोपमा तीन सयजना सञ्चालन कारागारमा रहेको पाइएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सो जानकारी दिएको हो। शुक्रबार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिले आगामी भदौ १ गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरुसँग बयान लिने कार्य सक्ने योजना रहेको बताए।

उनले कारागारमा करिब ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको जानकारी दिए।

उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए। उनले कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताए। थापाले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएपनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरेको जानकारी दिए। सरकारबाट केही जानकारी नआएको उनको भनाई छ।

उनले २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानबिनको लागि ल्याउन सरकारसँग आग्रह गरेको बताए। सभापति थापाले सोधपुछ र वित्तीय विश्लेषणको कामसँगै भएको भइरहेको भन्दै सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने भएकाले समयमा नै सम्पन्न गर्ने योजना रहेको बताए। उनले गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने जानकारी दिए।