बैंकिङ खबर/ सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नहरूलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।
अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये सबैभन्दा चर्चित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई हुन् । उनी मलेसियामा लुकेर बसेको अनुमान छ ।यसअघिका गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गरेर नेपाल ल्याउने कोसिस भइरहेको बताएका थिए ।
बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो । यस्तै सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ ।
यसैगरी सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।
शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
कति अमेरिका, कति बेलायत, कति मलेसिया, कति भारत र कतिको स्थिति अज्ञात रहेको हुनाले उनीहरूलाई खोज्न, स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन माननीय गृहमन्त्रीलाई आग्रह गरिएको समिति सभापति सुर्य थापाले बताए ।
समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको छ । बैठकमा गुण कोअपरेटिभका सञ्चालक राजेन्द्र शाक्यले बचतकर्ताको रकम फिर्ता गरेको जानकारी दिएको पनि सभापति थापाले जानकारी दिए ।