July 28th, 2024

के हो सर्किट ब्रेक ?, किन रोकिन्छ शेयर कारोबार ?

बैंकिङ खबर/ सेयर कारोबारको पहिलो दिन आइतबार सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भयो ।

नेपाल स्टक एक्सचेन्ज आइतबार पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भएको हो ।
आइतबार प्रि ओपन सेसनमै नेप्से सूचक ३८ अंकले बढेर २६०६.४२ को बिन्दुमा अडिएको थियो भने, कारोबार खुलेको १ मिनेटमै अर्थात् ११ बजेर १ मिनेटमै १०२.६८ अंकले बढेर शेयर बजारको कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।

नेप्से परिसूचक १२९.०७ अंकले बढे २६९७.२१ को बिन्दुमा अडिएको छ । दोस्रो सर्किट ब्रेकसम्म १३ लाख २०५ कित्ता सेयरको खरिदविक्री हुदाँ ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

के हो सर्किट ब्रेक ?

शेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार–चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।

नेपाल स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ ।

यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन् । बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेञ्जले यस्तो व्यवस्था गरेको हो ।

प्रत्येक दिन शेयरको प्रथम कारोबार हुँदा उक्त सेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ ।

ऋणपत्र भएमा प्रत्येक दिन प्रथम कारोबारमा शून्य दशमलव २ प्रतिशत र त्यसपछिका कारोबारहरुमा शून्य दशमलव १ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ ।

यसैगरी कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ ।