बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले यतिबेला आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति लेखनमा छ । विभिन्न माध्यमबाट सुझाव लिएर साउनको पहिलो हप्तासम्म मौद्रिक नीति ल्याउने तयारीमा रहेको राष्ट्र बैंकले अर्थसमितिको बैठकमा अर्थतन्त्रका मुख्य चार वटा चुनौति देखाएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले अहिलेको चुनौतिलाई चिर्ने र बजेटमा राखेको लक्ष्यलाई सम्बोधन गर्ने गरी नीति ल्याउने बताउँदै आएका छन् ।
त्यस अवसरमा गभर्नर अधिकारीले अहिले अर्थतन्त्र चलायमान बनाउने क्षेत्रको आर्थिक वृद्धि ऋणात्मक रहेको, ब्याजदर घट्दै जाँदा र तरलता प्रचुर हुँदा समेत कर्जाको प्रवाह न्यून रहेको, कर्जा माग बढाई आर्थिक गतिविधि थप बढाउने चुनौति रहेको बताएका छन् ।
उनले भनेका छन्, बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएकाले पूँजी क्षय एवम् मुनाफा घटेको, वित्तीय स्थायित्वको चुनौति कायमै छ । त्यस्तै, कर्जाको माग अझै पनि घरजग्गा र शेयर जस्ता क्षेत्रमा बढी देखिएको तर कर्जा प्रवाह उत्पादनशील क्षेत्रमा हुन नसक्नु मुख्य चुनौतीको रुपमा रहेको पनि राष्ट्र बैंकले औंल्याएको छ ।
यसैगरी, राष्ट्र बैंकले विद्यमान मौद्रि नीतिका दर अन्तर्गत बैंकको ७ प्रतिशत, नीतिगत दर ५.५ प्रतिशत,निक्षेप संकलन दर ३.० प्रतिशत,अनिवार्य नगद अनुपात ४ प्रतिशत रहेकोसमेत देखाएको छ ।
पछिल्लो समय मुद्रास्फीति दर घट्दो क्रममा रहेको तथा १० महिनाको औसत मुद्रास्फीति ५.७६ प्रतिशत रहेको उल्लेख गर्दै केन्द्रीय बैंकले आन्तरिक बजार हेर्दा मुद्रास्फीतिको चाप न्यून रहनुका साथै कृषि उत्पादन सामान्य स्तरमा हुने र आन्तरिक माग अझै कमजोर अव्स्थामा रहेको बताएको छ ।