
बैंकिङ खबर/ बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको सन् २०२३÷२४ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विश्वभरका केन्द्रीय बैंकले लिएका कसिलो मौद्रिक नीतिका कारण मुद्रास्फीति र वित्तीय स्थायित्वमा सुधार आएको बताएका छन् ।
स्विट्जरल्याण्डको बासेलमा आयोजित ‘द बैंक अफ इन्टरनेशनल सेटलमेन्ट(बीआइएस) को ९४ औँ वार्षिक बैठकमा बोल्दै उनले मुद्रास्फीतिमाथि विजय घोषणा गर्ने समय भने आइनसकेको भन्दै विगतका आर्थिक तथा वित्तीय संकटको अनुभवबाट पाठ सिक्दै केन्द्रीय बैंकहरू ढुक्क भएर बस्ने स्थिति नरहेको धारणा राखे ।
बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीहरूको सहभागिता थियो । बैठकका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीे ‘High Level Meeting on Cross-border Payments’ विषयक अन्त्तरक्रिया कार्यक्रममा सहभागी थिए । उक्त कार्यक्रममा विभिन्न राष्ट्रका अन्तरदेशीय भुक्तानी प्रणालीमा भएका उपलब्धी र चुनौतीका सम्बन्धमा छलफल भएको थियो ।
सो अवसरमा गभर्नर अधिकारी फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा आयोजित ‘Policy Approaches for Addressing Risks posed by the use of AI in Financial Services’ विषयक अन्तरक्रियामा सहभागी भएका थिए । उक्त कार्यक्रममा Artificial Intelligence को प्रयोग, यसले ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न विश्वका विभिन्न केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाबारे छलफल भएको थियो ।
बैठकका गभर्नर अधिकारीले बीआईएस, बैंकिङ विभागका प्रमुख लुइस बेनगोचिया र उक्त विभागका अधिकृतहरूसँग छलफल गरी विभागको कार्यक्रम तथा योजनाबारे जानकारी लिएका थिए ।
यसैगरी, उनले भारतीय रिजर्ब बैंक, स्टेट बैंक अफ पाकिस्तान, बैंक अफ मङ्गोलिया, बैंक अफ मौरिसस र अन्य केन्द्रीय बैंकका गभर्नर तथा उच्च अधिकारीहरूसँग समेत भेटघाट गरेका थिए ।
कार्यक्रममा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेलको समेत सहभागिता थियो । बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सन्१९३० मा स्थापित यस संस्थामा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन्। यसको मुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ ।




