बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति ल्याउने राष्ट्र बैंकले तयारी गरेको छ । राष्ट्र बैंक यतिबेला विभिन्न निजी क्षेत्र, सरकारलगायतसँग सुझावहरु संकलन गर्ने काम गरेर लेखनको चरणमा रहेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति आउने अपेक्षा नराख्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति टाइट हुनु स्वभाविक रहेको भन्दै मौद्रिक नीति लचिलो आउने अनुमान नगर्न भने ।
मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका गभर्नर अधिकारीले तथ्याङ्कको मूल्याङ्कन भइरहेको जानकारी दिए । ‘तथ्याङ्क मूल्याङ्कन गर्दै मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ,’ अधिकारीले भने, ‘ऋण समस्या सरलीकृत गर्न राष्ट्र बैंकतर्फ बढी आशातीत भएको देखिए पनि राष्ट्र बैंकका आफ्नै सीमितता छन् ।’ गभर्नर अधिकारीले विरोधका लागि विरोध नभई निजी क्षेत्रका वास्तविक समस्याहरू आए समाधान गर्न केन्द्रीय बैंक तयार रहेको पनि बताए ।