June 22nd, 2024

वित्तीय प्रणालीमा अधिक तरलता

बैंकिङ खबर/ वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरणमार्फत २ खर्ब बराबरको तरलता खिच्दा पनि व्यवस्थापन हुन सकेको छैन ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता र ब्याजदर व्यस्थापनका लागि स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरकणको प्रयोग गर्दै आएको छ ।

तर, चालु आर्थिक वर्ष समाप्तिको अन्तिम महिना भएकाले पनि कर्जा लगानी ठप्प छ भने असुलीले निक्षेप बढ्ने क्रम जारी छ ।
आर्थिक वर्षको अन्तिम महिनामा बैंक तथा वित्तीय संस्थाले कर्जाको माग आएको खण्डमा पनि प्रवाह गर्न चाहदैनन् । त्यसका साथै पुराना कर्जाको असुलीलाई तीव्रता दिने गर्छन् । त्यसले

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले यो साताका पछिल्लो ३ दिनमा मात्रै ९० अर्बको निक्षेप संकलन र ५० अर्ब ५२ करोडको स्थायी निक्षेप सुविधा मार्फत तरलता खिचेको थियो । सो मध्ये आइतबारको २२ अर्ब १५ रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा ४ दिनमा नै परिपक्क भयो । गत बिहीबारको २८ अर्ब १० करोड रुपैयाँको स्थायी निक्षेप सुविधा भने परिपक्क हुन बाँकी छ । योसँगै केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको एक खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ बक्यौता छ ।

केन्द्रीय बैंकले तरलता खिच्नका लागि बिहीबार १४ दिन अवधिको ५० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको थियो । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब २० करोड रुपैयाँ दिन खोजेका थिए । बिहीबारको निक्षेप संकलन उपकरणमा अधिक माग भएपछि केन्द्रीय बैंकले शुक्रबार पनि ४० अर्बको निक्षेप संकलन जारी ग¥यो ।

केन्द्रीय बैंकले शुक्रबार ४० अर्ब रुपैयाँ बरावरको १४ दिन अवधिको निक्षेप लिन चाहेको भएपनि बैंक तथा वित्तीय संस्थाले भने ५५ अर्ब ३५ करोड रुपैयाँ दिन चाहे । बैंकहरुले धेरै दिन चाहेको भएपनि केन्द्रीय बैंकले भने बिहीबारको भन्दा सामान्य धेरै ब्याजदरमा ४० अर्ब रुपैयाँ बरावरको निक्षेप लियो ।

शुक्रबार पनि बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई निक्षेप दिदाँ अधिकतम ३.१००० र न्यूनतम २.९९०० प्रतिशत ब्याज माग गरेका छन् । यसको औसत ब्याजदर ३.०६८३ प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर बिहीबारको भन्दा सामान्य धेरै हो । बिहीबार बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.१००० र न्यूनतम २.९९९ प्रतिशत ब्याजदर मागेका थिए । यसको औसत ब्याजदर ३.०५३७ प्रतिशत कायम भएको थियो ।

बैंकिङ तरलता के हो ? तरलताको प्रभाव कस्तो हुन्छ ?

कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।

तरलताको आवश्यकता किन पर्छ ?

मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ । तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चापदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ । त्यसैले, कमजोर तरलताले धेरै किसिममा समस्या निम्त्याउन सक्छन् ।

तरलता मूल्याङ्कनको परम्परागत विधि

व्यावसायिक इकाइहरूले तरलताको अवस्था मूल्याङ्कका लागि दुई मुख्य आधारहरूलाई लिने गरेका छन् । यी आधारहरूमध्ये एक चालू अनुपात वा करेण्ट रेसियो हो भने अर्काे क्विक रेसियो । करेण्ट रेसियो कुल चालू सम्पत्तिलाई कुल चालू दायित्वले भाग गरेर निकालिन्छ । चालू सम्पत्ति भन्नाले ती सम्पत्तिलाई बुझाउँछ, जुन १ वर्ष वा १ कार्य वर्ष (जुन समयावधि लोमो हुन्छ)भित्र रकममा परिवर्तन गर्न सकिन्छ । चालू सम्पत्तिमा नगद, बैङ्कमा रहेको नगद मौज्दात, प्राप्त हुनुपर्ने रकमहरू (एकाउण्ट रिसिएबल)लगायत पर्छन् । त्यसैगरी, चालू दायित्व भनेको त्यस्ता तिरोहरू हुन्, जुन १ वर्ष वा १ कार्य वर्षमा भुक्तान गरिसक्नुपर्छ । सिद्धान्ततः २ बराबर १ अनुपातमा रहने करेण्ट रेसियो सन्तोषजनक र राम्रो मानिन्छ । यसले चालू दायित्वको तुलनामा कम्पनीको चालू सम्पत्तिमा दोब्बर बढी पूँजी रहेको देखाउँछ । यद्यपि, व्यावहारिक दृष्टिकोणले कम्पनीको स्तरीयताको आधारमा तरलताको मूल्याङ्कन हुनुपर्ने सुझाव दिइन्छ ।

करेण्ट रेसियोको तुलनामा क्विक रेसियो तरलता मूल्याङ्कनका लागि अझ बढी उपयोगी मानिन्छ । करेण्ट रेसियोको मूल्याङ्कनमा हुने मुख्य त्रुटि भनेकै यसले इन्भेण्ट्री र अग्रिम चुक्ता खर्चलाई पनि तरलताको मूल्याङ्कनको क्रममा प्रयोग गर्छ । जब कि, वास्तवमा यी दुईलाई तरल सम्पत्तिको रूपमा कमै लिइन्छ । यी दुईलाई क्विक रेसियोमा प्रयोग गरिँदैन । किनकि, क्विक रेसियो तरल सम्पत्तिलाई चालू दायित्वले भाग गरेर निकालिन्छ । इन्भेण्ट्री र अग्रिम चुक्ता खर्चबाहेकका चालू सम्पत्तिलाई मात्र तरल सम्पत्तिको रूपमा क्विक रेसियोले हिसाब गर्छ । क्विक रेसियो १ भए राम्रो मानिन्छ । तर कम्पनीको स्तरीयताको आधारमा तरलताको मूल्याङ्कन गर्ने कुरा भने ध्यानमा राखी राख्नुपर्दछ ।  

तरलता मूल्याङ्कनको वैकल्पिक विधि

परम्परागत मूल्याङ्कन विधिलाई मात्र लगानीकर्ताले अनुसरण गर्नु हुँदैन । तरलताको मूल्याङ्कनमा वैकल्पिक विधिलाई पनि प्रयोग गर्नु राम्रो हुन्छ । यसका लागि दीर्घकालीन ऋणबाट खुद स्थिर सम्पत्ति घटाएपछि खुद सञ्चालन पूँजीले भाग गरेर तरलता निकालिन्छ  ।दीर्घकालीन ऋण चुक्तापूँजी र ननकरेण्ट लायबिलिटिज जोडेर निकालिन्छ । खुद स्थिर सम्पत्ति निकाल्न कुल स्थिर सम्पत्तिबाट सञ्चित ह्रासकट्टी खर्च घटाएर निकालिन्छ ।

खुद सञ्चालन पूँजी कुल चालू सम्पत्तिबाट कुल चालू दायित्व घटाएर निकालिन्छ । नगद मौज्दातलाई कुल चालू सम्पत्तिको रूपमा भने लिइँदैन । दीर्घकालीन ऋण भने खुद स्थिर सम्पत्तिभन्दा धेरै हुनुपर्छ भने कुल चालू सम्पत्ति (नगद मौज्दातबाहेक) पनि कुल चालू दायित्वभन्दा धेरै हुनुपर्छ । केही भने क्यास रेसियोबाट पनि तरलताको मूल्याङ्कन गर्छन् । क्यास रेसियो कुल नगद र नगदजस्तै क्यास सम्पत्तिको योगलाई कुल चालू दायित्वले भाग गरेर निकालिन्छ । तर पनि तपाईंको विश्लेषण यतिमै मात्र सीमित भने हुनुहुँदैन । यदि कुनै कम्पनी तरलता समस्यामा रहेको छ भने यस्तो किन भएको छ र यसमा कसरी अघि बढ्न सकिन्छ, हेर्नुपर्ने हुन्छ ।