बैंकिङ खबर/ वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा सकस परेको छ । बिहीबार निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब तरलता खिचेको राष्ट्र बैंकले शुक्रबार सोही उपकरण मार्फत १४ दिनको लागि ४० अर्ब तरलता खिच्ने भएको छ ।
राष्ट्र बैंकले अल्पकालिन ब्याजदरको उतारचढाव नियन्त्रणका लागि निक्षेप संकलन उपकरणको प्रयोग गर्ने गरेको छ । स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको तरलता र अन्तर बैंकदर व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत वित्तीय प्रणालीको थप तरलता खिच्न लागेको हो ।
केन्द्रीय बैंकले बिहीबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब तरलता खिचेको छ । २१ बैंक तथा वित्तीय संस्थाहरुले ७५ आवेदन मार्फत ७४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन उपकरणमा राख्न चाहे पनि राष्ट्र बैंकले औसत ३.०५३७ ब्याजदरमा ५० अर्ब रुपैयाँ मात्र लिएको छ ।
बैंकहरुले न्यूनतम २.९९९ प्रतिशत देखि अधिकतम ३.१००० प्रतिशतसम्मको ब्याजदर माग गर्दै बोल गरेका थिए । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न सकेको छैन । केन्द्रीय बैंकले तरलता र व्याजदर व्यवस्थापनका लागि विभिन्न वित्तीय औजार मार्फत अधिक तरलता खिच्ने गर्छ । साथै वित्तीय प्रणालीमा तरलता बढेपछि अन्तर बैंक घट्ने गर्छ ।
केन्द्रीय बैंकले अल्पकालिन ब्याजदरमा आउने उतारचढाव नियन्त्रणका लागि अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण जारी गर्छ । केन्द्रीय बैंकले निक्षेप संकलन जारी गरेर वित्तीय प्रणालीको अधिक तरलता खिच्नुका साथै अन्तर बैंकदर पनि बढाउछ ।
स्थायी निक्षेप सुविधा मार्फत अन्तर बैंकदर नबढेपछि केन्द्रीय बैंकले बिहीबार निक्षेप संकलन मार्फत पनि तरलता खिचेर अन्तर बैंकदर बढाउन खोजेको हो । तर अन्तरबैंकदर अझै ३ प्रतिशत तल रहेपछि केन्द्रीय बैंकले शुक्रबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत खिच्न लागेको हो ।
गत बुधबार मात्रै केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा (एसडिएफ) मार्फत २८ अर्ब १० करोड तरलता खिचेको थियो । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि उक्त रकम ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा राखेका हुन । खासगरी बैंकहरुले सातामा २ पटक आइतबार र बुधबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने राष्ट्र बैंकको व्यवस्था छ। सोहि अनुसार बैंकहरुले बढी भएको निक्षेप राष्ट्र बैंकमा राख्ने गरेका छन्।




