बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आर्थिक सुशासनको लागि ५ सय र १ हजार दरका नोट क्वीट गरे गैरकानूनी कारोबार र भ्रष्टाचार रोकिने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै गुरुङले यस्तो बताएका हुन् । ‘आर्थिक सुशासनको लागि सरकारले ५ सय र हजारको नोट क्वीट गर्न सक्नुपर्छ । ५ सय र हजारको नोट क्वीट गर्दा ८० गैरकानूनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ,’ गुरुङले भने, ‘त्यसपछि सिरानीमुनी, खाटमुनी, जमिनमुनी र पानीमुनी भएका सबै पैसा आउँछन् । यस्तो गरिए हामी पैसा छ भन्ने अवस्थामा पुग्छौं । अनि चाहेका योजना र कार्यक्रम पूरा गर्न सक्छौं ।’




