बैंकिङ खबर/ धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानीस्थित जनजन्नी बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय एक कार्यक्रमकाबीच समुद्घाटन गरिएको छ । सहकारीका अध्यक्ष रेशम प्रसाद वास्तोलाको अध्यक्षता र पुर्व राज्य मन्त्री दिपक कार्की (बाबा) को प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि बाबाले रातो रिबन काटेर कार्यालयको समुद्घाटन गरे ।
प्रमुख अतिथि बाबाले यस क्षेत्रमा सहकारी संस्थाले प्रभावकारी ढंगले सेवा प्रवाह गर्न नसकी सहकारी क्षेत्रनै आलोचित भएको अवस्थामा वित्तीय क्षेत्रमा लामो अनुभव भएका संचालक समितिको टिमले शुरु गरेको यस संस्थाले वित्तीय अनुशासन कायम गरी प्रभावकारी ढंगले सहकारी संचालन हुने विश्वास रहेको बताए ।
बाबाले यस सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई स्वास्थ्यमा पहुँच पुग्ने काम गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा सरसफाइ र बृक्षारोपणमा समेत सकृय रही समाजमा सबैले स्वीकार्न सक्ने सहकारी बनोस भनी शुभकामना दिए ।
प्राध्यापक गणेश घिमिरेले संचालन गर्नु भएको कार्यक्रममा अध्यक्ष रेशम प्रसाद वास्तोलाले मन्तब्य राख्दै आफ्नो वित्तीय क्षेत्रको लामो अनुभवलाई सहकारीका माध्यमबाट समाज सेवामा लाग्ने र आफ्नो टिमले यस क्षेत्रका विभिन्न पालिकामा समेत सेवा विस्तार गरि जिल्लाकै उत्कृष्ट र सवल सहकारी बनाउने बताए । सहकारीले रेमिट्यान्स सेवा, कर्जा विमा कार्यक्रम, मोवाईल बैंकिङ, एसएमएस एलर्ट सेवा जस्ता कार्यक्रम संचालनमा ल्याउने र सामाजिक कार्यमा समेत सकृय रहने अध्यक्ष वास्तोलाले बताए ।
कार्यक्रममा वडा अध्यक्ष सुरज लामा, समाजसेवी अम्विका विश्वकर्मा लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यालय समुद्घाटन कार्यक्रमको अवसरमा काब्या हस्पिटल जनकपुरधामबाट निशुल्क थाईराईड जाँचको शिविर संचालन गरिएकोमा १५० जनाले थाईराईड जाँच गराएका थिए ।
