April 12th, 2024

आरम्भ चौतारी लघुवित्तकाे आठौं वार्षिक साधारणसभा सम्पन्न

 

बैंकिङ खबर/बनेपा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाल आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिबाट पेश भएको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।

त्यसैगरी सभामा विभिन्न शेयरधनिहरुबाट आएको जिज्ञासा,सल्लाह, सुझाव बारेमा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र संचालक समितिका अध्यक्ष जगत बहादुर पोख्रेलले प्रष्ट पार्ने कार्य गरेका थिए भने सञ्चालक समितिको तर्फबाट उपस्थित सबैलाई स्वागत मन्तव्य सञ्चालक समितिको सदस्य दिपक तिवारीले गरेका थिए ।

 

भविष्यमा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने वा प्राप्तिसंग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरु पुरा गर्न गराउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पारित गरेको छ । संस्थाले आधुनिक प्रविधिमैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै वित्तीय साक्षरतामा विशेष जोड दिइ कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष जगत बहादुर पोख्रेलले बताए ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रदेश, ५३ जिल्लाहरुमा १४० शाखा कार्यालयहरु, ६ प्रदेश कार्यालय र केन्द्रीय कार्यालय गरी १४७ कार्यालय सञ्जालमार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आई रहेकोछ । २०८० पौष मसान्त सम्म ९९ हजार सदस्य, ३८ हजार ऋणी मार्फत १ अर्व ४८ करोड वचत संकलन गरी ४ अर्व ७६ करोड कर्जा लगानी गरेको छ ।