
बैंकिङ खबर/सोमबारको सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द हुन पुगेको छ । १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म नेप्से सूचक ११७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ ।
प्रि–ओपनिङको समयमा १५ अंकले बढेको बजार केहीँ मिनेटमा नै पहिलो सर्किट लागेको थियो । त्यसपछि खुलेको बजार पुनः ४ प्रतिशतमाथिले बढ्दै दोस्रो पटक सर्किट लागेर बन्द भएको थियो । यसलगत्तै खुलेको बजार एक मिनेट पनि नटिक्दै तेस्रो पटक सर्किट लागेर बन्द हुन पुगेको छ ।
६ प्रतिशतले बढेको बजारमा आज ३ अर्ब ७५ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर बजारमा किनबेच भएको छ । २३२ कम्पनीको सेयर कारोबार भएको आज दुईवटा कम्पनी बाहेक बाँकी २३० वटा कम्पनीको सेयर मूल्य आज बढेको छ ।
रिडि पावर कम्पनी लि., शिभश्री हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन, मेन्छियाम हाइड्रोपावर, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, एशियन हाइड्रोपावर, बाराही हाइड्रोपावर पब्लिक लि.,जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि र अरुण भ्याल्ली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
आज म्युचुअल फण्ड बोहक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक आज ७.८६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ६.४१ प्रतिशतले, इन्भेष्टमेन्ट बैंक समूह ६.४० प्रतिशतले, लाइफ इन्स्योरेन्स ६.३२ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ६.१३ प्रतिशतले बढेको छ ।
यस्तै, बैंकिङ समूहको उपसूचक आज ५.९४ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह ५.५८ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक ५.१५ प्रतिशतले बढेका छन् ।



