Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कान्तिपुर सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी

२०८० फाल्गुन १० गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी प्रहरीको नियन्त्रणमा छन् । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको छ ।

५४ वर्षीय हिमालय विक्रम कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का स्थानीय हुन् । अहिले उनी काठमाडौँ महानगरपालिका–३२ मा बस्छन् । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका थप ६ जना संचालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँबाट कोषाध्यक्ष र सचिवसहित ६ जनाविरुद्ध पक्राउ अनुमति आएको उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ ।

कान्तिपुर सेभिङ्गका कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्यहरु सानुकान्छा लामा, नारायण प्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुलीविरुद्ध पुर्जी जारी भएको छ । प्रेमध्वज लामा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका स्थानीय हुन् । जोगलाल पनि काभ्रेको तेमाल–५ का स्थानीय हुन् । सानुकान्छा लामा (५२ वर्षीय) तेमाल गाउँपालिका वडा नम्बर–५ का हुन् ।

५२ वर्षीय नारायण प्रसाद रिमाल नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर–६ का हुन् । ईन्दु थापा काठमाडौँ महानगरपालिका–३४ की स्थानीय र देवराज पराजुली (४४ वर्षीय) काभ्रेको भुम्लु गाउँपालिकाका हुन् । संचालकहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको ठगेको आरोपमा प्रहरी बृत्त नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्धा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् ।