
बैंकिङ खबर/ बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ। बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी फरार रहेका नेपाली र श्रीमती छेलालाई पक्राउ गर्न नेपाल प्रहरीले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)शुक्रबार ‘रेड कर्नर नोटिस’ जारी गरेको हो।
सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ। तर अध्यक्ष नेपाली भने गत बैशाखदेखि नै फरार छन्। अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरेका थिए। बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए।
‘अब उनी कुन देशमा छन् भन्ने थाहा भयो भने त्यही देशको प्रहरीले खोजी गरेर नेपाललाई सुर्पुदगी गर्छ,’ डिएसपी केसीले भने, ‘उनको लोकेसन ट्रयाक गर्नुपर्ने आवस्यक छ।’ उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन्।
उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु भने बैसाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए। सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेका छन्। त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ। मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्।


