२०८० माघ ७ गते

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी

बैंकिङ खबर/ सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा.नबराज अधिकारीलाई दिएको छ । आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।

निवर्तमान अध्यक्ष रमेशकुमार हमालको पदावधी सकिएपछि अध्यक्ष पद रिक्त थियो । सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि उनलाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ । यसबारे बुझ्न खोज्दा उनले आफूले मन्त्रालयबाट पत्र बझेको तर पत्रको व्यहोरा भने हेर्न नभ्याएको बताएका छन् ।

गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्व विहिन छ । अर्थ मन्त्रालयले बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी कसलाई दिने भन्ने अन्योल कायमै रहँदा उनलाई नियुक्ती दिएको हो ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।