सरकारले कांग्रेस नेतृ सुजता कोइरालालाई ५० लाख दिने निर्णय गरेलगत्तै त्यसको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाको चर्को आलोचना भईरहेको छ । स्तन क्यान्सरबाट पीडित नेतृ कोइरालालाई उपचारका लागि ५० लाख दिने सरकारको निर्णयको चौतर्फी विरोध भईरहेको हो ।
सामाजिक सञ्जालसँगै सोमबार बसेको व्यवस्थापिका संसद बैठकमा समेत सांसदहरुले सरकारको सो निर्णयको चर्को विरोध जनाएका छन् । संसदमा विशेष समय लिएर बोल्दै एमाले सांसद प्रकाश ज्वालाले नेतृ कोइरालालाई सरकारले उपचार खर्च दिएर जनताको भावनामाथि प्रहार गरेको बताए । उनले श्रीमानको कुटाइबाट घाइते भएकी रोल्पाकी सुनकुमारी नेपालीको ज्यान गएको भन्दै सुनकुमारी र नेतृ कोइरालाबीच किन विभेद भएको भन्ने प्रश्न गरे । सांसद ज्वालाले भने,‘सरकारले स्तन क्यान्सरबाट पडित नेतृ कोइरालालाइृ ५० लाख दिने निर्णय गरेर गलत काम गरेको छ । यो जनताको भावना विपरितको निर्णय हो ।’ उनले नेतृ कोइरालालाई उपचारका लागि पैसा दिने निर्णय भएको छैन भनेर सरकारका प्रवक्ताले ढाँटेको भन्दै संसदमा यसबारेमा जवाफ दिनु पर्ने बताए ।
वैठकमा बोल्दै एमालेकै सांसद यज्ञराज सुनुवारले नेताको उपचारबारे नभई गरिब निमुखा जनताको उपचारबारे सोच्नु पर्ने बताए । उनले भने,‘जनता सिटामोट नपाएर छट्पटाइरहेका छन् । केहीले उपचारका लागि खर्च नभएर अस्पतालकै छतबाट हाम फालेर ज्यान गुमाइरहेका छन् । यसबारे सरकारले कहिले सोच्ने ?’
प्रतिपक्षी दल राप्रपा नेपालका प्रमुख सचेतक दिलानाथ गिरीले वर्तमान सरकारले राज्यकोषको दुरुपयोग गरिरहेको आरोप लगाए । उनले सत्ता नजिक बस्नेहरुले राज्यकोषको ब्रम्हलुट मच्याइरहेको आरोप लगाउँदै निश्चित मापदण्ड बनाएरमात्रै उपचार खर्च दिइनु पर्ने बताए ।
पूर्व प्रधानमन्त्री तुलसी गिरीले उपचार खर्च माग्दा सरकारले १५ लाख मात्रै दिएको स्मरण गर्दै भने, ‘पूर्वप्रधानमन्त्री गिरीलाई उपचार खर्च दिन मिल्दैन भनेर १५ लाख रुपैयाँमात्रै दिने अनि अहिले आएर नेतृ कोइरालालाई भने ५० लाख रुपैयाँ दिने ? सरकारको यो विभेदकारी निर्णय हो । यसलाई सच्चाउनु पर्छ ।’
बैठकमा अन्य साना दलका सांसदले पनि सरकारको निर्णयको चर्को विरोध गर्दै सच्याउन माग गरे ।