
बैंकिङ खबर/सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिमार्फत आज (पुस २५ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि नौ लाख ३० हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि दुई लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
कम्पनी निष्कास गरेको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन बन्द छिटोमा माघ १० गते हुनेछ भने ढिलोमा माघ २५ गते हुनेछ । सेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ ।




