January 3rd, 2024

शिव शिखर सहकारीका बचतकर्तासँग रकम दाबी कागजात माग

बैंकिङ खबर/सञ्‍चालकको मनोमानीले ठूलो रकम अपचलन भएपछि समस्याग्रस्त घोषित शिव शिखर सहकारी संस्थाका सदस्य बचतकर्तासँग सरकारले पाउनु पर्ने रकमको विवरण मागेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५ दिनभित्र मागदाबी आवेदन मागेको हो। आवेदन अनलाइनमार्फत सप्रमाण बुझाउनुपर्ने बुधबार प्रकाशित सूचनामा छ।

बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको उक्त सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत असारमा भारतबाट पक्राउ गरेर ल्याएको थियो। आफूलाई प्रहरीले खोजी सुरु गरेको थाहा पाएपछि शर्मा भारतमा लुकीछिपी बस्दै आएका थिए।

शिव शिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए। दुवै सहकारीका बचतकर्ताको ठूलो रकम शर्माले कानुनविपरीत आफ्ना विभिन्‍न कम्पनी तथा फर्ममा लगानी गरेको खुलेको थियो।

काठमाडौं जिल्ला अदालतको आदेशमा उनी पुर्पक्षका लागि थुनामा छन्। सहकारीको काठमाडौं शाखाका सेयर सदस्यको उजुरीका आधारमा शर्मासहित डेढ दर्जन पदाधिकारी र व्यवस्थापन कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ।

काठमाडौंमा रहेका शाखाका १ हजार १ सय ४५ जनाको ७८ करोड १९ लाख ६३ हजार रुपैयाँ बराबरको रकम अपचलन गरेको जाहेरी परेको थियो। ७८ करोडकै बिगोको कायम गरी मुद्दा दायर भएको थियो।

एक दशकअघि खुलेको सहकारीले अरुभन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु गरेको थियो। निक्षेप संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो।

देशभर शाखा पनि विस्तारसँगै मार्टदेखि जग्गा कारोबारसम्म लगानी गरेको खुलेको छ। उक्त सहकारीका पदाधिकारीले ३६ वटा शाखा कार्यालयबाट करिब १४ अर्ब रुपैयाँ ठगी गरेको सीआइबीको निष्कर्ष छ।

ललितपुर शाखाका सेयर सदस्य रहेका ६ हजार १ सय २३ सर्वसाधारण ठगिएका छन्। उनीहरूको ४९ करोड ३ लाख ७८ हजार रुपैयाँ संस्थामा बचत छ। भक्तपुरका २७ हजार २ सय ५३ सेयर सदस्यको १ अर्ब ७१ करोड २८ लाख रुपैयाँ डुबेको छ। प्रहरीका अनुसार उक्त सहकारीका देशभर १ लाख ६८ हजार ७ सय २५ सदस्य रहेको देखिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरको गत भदौ २५ को निर्णयानुसार शिव शिखर बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि लेखी आएको समितिको सूचनामा उल्लेख छ।

सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुले आफूले पाउनुपर्ने रकमको मागदाबी समितिको वेबसाइट www.coopme.gov.np मा सप्रमाण पेस गर्न आह्‍वान गरिएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]