Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिमालयन रिको आईपीओमा १६ लाख ६० हजारले दिए आवेदन

२०८० पुष २ गते

बैंकिङ खबर/ हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । योसँगै कम्पनीको आईपीओमा आवेदन लिने कार्य सोमबार साँझ कार्यालय समयपछि बन्द भएको छ ।

कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका छन् । ६ अर्ब ६३ करोड रुपैयाँ आवेदकको बैंक खातामा रोक्का भएको छ । गत बुधबारदेखि कम्पनीले आईपीओमा आवेदन खुलाएको थियो । १०६ रुपैयाँ प्रिमियम थप गर्दै कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार रितपूर्वक भर्नेजति सबैलाई यो कम्पनीको आईपीओ पर्नेछ । निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले सेयर दिएपछि बाँकी रहेको सेयरका लागि १० कित्ताभन्दा माथिको आवेदन दिनेलाई पुनः १० कित्ताकै दरले प्रदान गर्नुपर्नेछ ।

यदि सबै आवेदन रितपूर्वक भरिएको पाइएमा पनि हिमालय रिमा १६ लाख ६० हजारलाई १० कित्ताका दरले सेयर दिँदा १ करोड ६६ लाख कित्ता बाँडफाँट हुन्छ । बाँकी रहेको सेयर पुनः २० कित्ता वा सोभन्दा बढीको आवेदन दिएकालाई १० कित्ताका दरले वितरण हुन्छ ।