मनास्लु विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५ दशमलव ७१ प्रतिशतले बढी नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मनास्लुले ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
१८ करोड ३५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ५१ दशमलव ३२ प्रतिशतले वृद्धि गरी २ अर्ब १७ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ४४ दशमलव ०८ प्रतिशतले बढाएर १ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६१ दशमलव ७६ प्रतिशत बढेर ३ करोड २८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालक मुनाफामा ८१ दशमलव ८५ प्रतिशतले वृद्धि गरी २ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
बैंकले प्रोभिजनमा १२ लाख रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पत्ती १८ दशमलव १५ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ७ दशमलव २५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६६ दशमलव ९४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३७ दशमलव ११ रुपैयाँ र तरलता अनुपात ३४ दशमलव ६३ प्रतिशत रहेको छ ।