Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आरक्षणमा किनेको धितोपत्र ६ महिना बिक्री निषेध

२०८० मंसिर ३ गते

बैंकिङ खबर/सामूहिक लगानी कोषले आरक्षणअन्तर्गत किनेको धितोपत्र कम्तीमा ६ महिना बिक्री गर्न नपाउने भएको छ । नेपाल धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले हालै यस्तो निर्णय गरेको हो ।
सामूहिक लगानी कोष नियमावली ०६७ को दफा ४६ मा संगठित संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दा सामूहिक लगानी कोषलाई कुल धितोपत्रको कम्तीमा पाँच प्रतिशत छुट्याउनुपर्ने व्यवस्था छ ।

‘सार्वजनिक रूपमा धितोपत्र निष्कासन गर्ने संगठित संस्थाले धितोपत्र सार्वजनिक निष्कासन गर्नुअगावै कुल धितोपत्रको कम्तीमा पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याउनुपर्नेछ,’ नियमावलीमा भनिएको छ । यही व्यवस्थामा टेकेर खरिद गरेको सेयर ६ महिना बिक्री गर्न नपाउने व्यवस्था बोर्डले गरेको हो ।

‘संगठित संस्थाको सार्वजनिक रूपमा निष्कासन गरिने धितोपत्रको कम्तीमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषका लागि छुट्याउनुपर्ने व्यवस्थाबमोजिम त्यस्ता कोषले खरिद गरेका धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले ६ महिना पूरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउनेछैन,’ बोर्डको निर्देशनमा भनिएको छ ।