Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

२०८० कार्तिक २५ गते

बैंकिङ खबर/ प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्जका लागि आवेदन मागेको १ वर्षभन्दा बढी भइसकेको छ । सुरुमा आवेदन माग गरेपछि सर्वोच्च अदालतको आदेशले आवेदन दिने म्याद नसकिंदै रोकिएको लाइसेन्स प्रक्रिया पछिल्लो पटक गत वैशाखमा प्रधानमन्त्रीको निर्देशन र २९ जेठमा अर्थ समितिको निर्देशनपछि नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोकेको थियो ।

शुक्रबार बसेको अर्थ समितिको बैठकले नयाँ स्टक एकसचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको समिति सदस्य मेटमणी चौधरीले बताए । सर्वोच्च अदालतको आदेश, अध्यनबाट प्रतिष्पर्धा र गुणस्तर बढाउनुपर्ने देखिएको, एकाधिकार घटाउनुपर्ने देखिएको उनले बताए । यसलाई दृष्टिकोण गरी लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय भएको उनले बताए ।

धितोपत्र बोर्डले २ असोज २०७९ मा एकसाथ स्टक ब्रोकर, कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जको लाइसेन्सको लागि आवदेन आह्वान गरेको थियो । बोर्डले स्टक एक्सचेञ्जको लागि ४५ दिन रसेयर ब्रोकरको लागि ३५ दिनको म्याद राखेर आवेदन आह्वान गरेको थियो । स्टक ब्रोकरको लागि आवेदन दिने म्याद सकिएपछि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि ४ कात्तिक २०७९ मा धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको आवेदन स्थगित गरेको थियो ।