Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर कर्जाको सीमा बढ्दा पनि देखिएन उत्साह

२०८० आश्विन २१ गते

बैंकिङ खबर/आइतबार सेयर बजारका सबै सूचकमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा नरम नीति लिए पनि आइतबार सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३५.६७ अंकले घटेर एक हजार ९२१.२४ विन्दुमा कायम भएको छ। त्यसैगरी, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.५५ प्रतिशत, फ्लोट इन्डेक्स १.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६८ प्रतिशतले घटेको छ।

गत बिहीबार राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा १५ करोड र संस्थागत लगानीकर्ताका लागि अधिकतम २० करोडको सीमा तोकेको थियो।

त्यसपछिको पहिलो कारोबार दिनमा आइतबार कारोबार भएका दुई सय १३ कम्पनीका सेयर मूल्य घट्दा १६ कम्पनीको मात्र मूल्य बढेको छ। ५८ लाख १८ हजार कित्ता सेयर एक अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँबराबरमा कारोबार भएको छ।

आइतबार कारोबारमा आएका नेप्सेका सबै समूहको सूचकमा समेत गिरावट आएको छ। हाइड्रोपावर समूहको सूचकमा आज सबैभन्दा धेरै २.७२ प्रतिशतको गिरावट देखिएको छ। यसैगरी, होटेल तथा पर्यटन २.३५ प्रतिशत, जीवन बिमा २.२८ प्रतिशत र लगानी समूह २.०१ प्रतिशतले घटेका छन्। बाँकी समूहको सूचकमा पनि एक प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ।

सेयर बजार घटे पनि बाराही हाइड्रोपावरको सेयर मूल्य ९.५९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फन्ड स्किम– २ को मूल्य ९.४० प्रतिशतले बढेको छ। यता, हिमालयन लघुवित्त र गरिमा डिबेन्चर– २०८५ को मूल्यमा नकारात्मक सर्किट लागेको छ। घलेम्दी हाइड्रोपावरमा ८.७० प्रतिशत र माया खोला हाइड्रोपावरमा ७.१७ प्रतिशतको गिरावट देखिएको छ।