तिनाउ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ०२ दशमलव २० प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले ९४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
१३ करोड १५ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा भएको प्रगतिले समग्र नाफा बढाएको हो । यो अवधिमा बैंकले ३ करोड ७४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ दशमलव २९ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको संचालन मुनाफा पनि ९१ दशमलव ४४ प्रतिशतले बढेर २ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
निक्षेप संकलन र कर्जा लगानीको हिसाबले पनि तिनाउको पहिलो त्रैमास सकारात्मक रहेको छ । बैंकले असोज मसान्तसम्ममा ३ अर्ब ४८ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० दशमलव ५४ प्रतिशतले बढी हो । त्यस्तै, बैंकले कर्जातर्फ २ अर्ब ९७ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । जबकी, गत आर्थिक वर्षको असोज मसान्तसम्ममा तिनाउको कर्जा लगानी एक अर्ब ९० करोड रुपैयाँ थियो ।
यो अवधिमा बैंकले ७ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । निष्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२ दशमलव ०७ प्रतिशत रहेको बैंकले जगेडाकोषमा १३ करोड १५ लाख रुपैयाँ राखेको छ भने प्रोभिजनमा ३३ लाख रुपैयाँ राखेको जनाएको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक २८ दशमलव ०९ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ४८ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानी अनुपात १८ दशमलव ३३ प्रतिशत र तरलता अनुपात २५ दशमलव ०१ प्रतिशत रहेको छ ।