चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट फाइनान्स घाटामा गएको छ । फाइनान्सलाई २३ लाख रुपैयाँ नोक्सान भइको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ लाख रुपैंया मुनाफामा रहेको फाइनान्स चालू आवमा सञ्चालन मुनाफामा गिरावट आएपछि नोक्सानमा गएको हो ।
१५ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सको खुद व्याज आम्दानी बढेपछि सञ्चालन मुनाफा नोक्सानमा गएपछि समग्र मुनाफा नै प्रभावित बनेको देखिन्छ । यो अवधिमा फाइनान्सको खुद व्याज आम्दानी २० दशमलव १० प्रतिशतले बढेर ९९ लाख रुपैयाँ पुगेको छ । यता, सञ्चालन मुनाफा भने २४ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।
एभरेष्टले निक्षेप संकलनमा भने प्रगति गरेको छ । असोज मसान्तसम्ममा फाइनान्सले १ अर्ब ३४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३१ प्रतिशत बढी हो । त्यस्तै, कर्जातर्फ फाइनान्सले १ अर्ब १० करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा फाइनान्सले ९० करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
फाइनान्सको प्रतिशेयर नेटवर्थ १ सय १४ दशमलव ५८ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ८१ प्रतिशत रहेको छ । त्यस्तै, निष्कृय कर्जा शुन्य दशमलव ८४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १५ दशमलव ०५ प्रतिशत रहेको छ ।