एनआइसी एसिया बैंकले मुलुकभर शाखा विस्तारलाई तीब्रता दिएको छ । यही क्रममा मंलबारमात्र पोखरामा २ सहित ७ शाखा उद्घाटन गरेर कारोबार थालेको छ । यीसँगै मुलुकभर शाखा सञ्जाल ७६ पुगेको बैंकका कर्पोरट कम्युनिकेसन एन्ड ब्रान्डिङ प्रमुख भानु दवाडीले जानकारी दिए । विभिन्न जिल्लाका ६९ ठाउँमा एटिएम सञ्चालनमा रहेको उनले बताए ।
मंगलबार पोखराको बिरौटा र लेखनाथ, बागलुङ, नुवाकोटको बट्टार, कैलालीको अत्तरिया, नवलपरासीको दलदले र कावासोतीमा शाखा उद्घाटन गरिएको छ । बिरौटा शाखा उद्घाटन पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष विश्वशंकर पालिखे र लेखनाथ शाखा उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठीले उद्घाटन गरे । पोखरामा यसअघि महेन्द्रपुलमा शाखा थियो । अब पोखरामा मात्रै शाखा सञ्जाल ३ पुगेको छ ।
दवाडीका अनुसार बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो ३ महिनामा २६ करोड १० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । हाल बैंकको ५ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी पुगेको छ । हकप्रद र बोस सेयर प्रदान गरेपछि पुँजी वृद्धि हुने र राष्ट्र बैंकले तोकेकै समयभित्र चुक्ता पुँजी ८ अर्ब पु¥याइने उनले बताए । बैंकको जगेडाकोषमा २ अर्ब १८ करोड ७५ लाख रुपैयाँ छ । ६१ अर्ब १ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेकोे छ ।
९ करोड ३ लाख रुपैयाँ प्रोभिजनमा रहेको बैंकले खराबकर्जा ५ करोड ८ लाख रुपैयाँ उठाएको छ । एनआईसी एशिया बैंकको पुँजी पर्याप्तथा अनुपात १२.५५ प्रतिशत छ । बैंकको हालै सम्पन्न १९औं बार्षिक साधारण सभाले बैंकका सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर तथा त्यसपछि कायम हुन आउने सेयरमा १५ प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका बिरौटा शाखाका प्रमुख चुडामणि पराजुली ‘दीपक’ले शाखा सञ्चालनका अवसरमा एक महिनासम्म शून्य प्रतिशत मौज्दातमा खाता खोल्ने सुविधा प्रदान गरेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका अनुसार गत असार मसान्तसम्म कास्कीमा क वर्गका बैंकका ६३, ख वर्गका बैंकका ९०, ग वर्गका फाइनान्स कम्पनीका ८ र घ वर्गका संस्थाका १६ शाखा सञ्चालनमा छन् । घमाधम मर्ज भएका कारण अन्यत्रजस्तै पोखरामा बैंक शाखा संख्या घट्दो छ । गत आवमा कास्कीमा ९८ अर्ब ३२ करोड निक्षेप संकलन भएकोमा क वर्गका बैंकमो ५० अर्ब र ख वर्गका बैंकको ४४ अर्ब ३२ करोड रुपैयाँ रहेको राष्ट्र बैंक पोखरा कार्यालयका सहायक व्यवस्थापक ऋतुनाथ लम्सालले जानकारी दिए ।