August 10th, 2023

भारतको केन्द्रीय बैंकले रिपोदर यथावत राख्यो, ६.५% को आर्थिक वृद्धि लक्ष्य

बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक (आरबीआई)ले ब्याजदर स्थिर राख्ने प्रयासस्वरुप हालको रिपो दरलाई यथावत राख्ने निर्णय गरेको छ । बैंकको मौद्रिक नीति कमिटी (एमपीसी)ले बिहीबार हालको ६.५ प्रतिशत रिपो दर यथावत राख्ने निर्णय गरेको हो ।

लगातार ३ दिनसम्म बसेको एमपीसी बैठकले रिपो दर यथावत राख्ने निर्णय गरेको गभर्नर शक्तिकान्त दासले बताएका छन् । केन्द्रीय बैंकले समग्र ब्याजदर स्थिर राख्ने उद्देश्यले रिपो दर यथावत् राख्ने निर्णय गरेको सञ्चारमाध्यम इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। केन्द्रीय बैंकले बैंकहरूलाई दिने ऋणवापत् लिने दर नै रिपो दर हो ।

बैंकले लगातार तेस्रो पटक रिपो दरलाई स्थिर राखेको हो । २०२२ मे महिनायता केन्द्रीय बैंकले रिपो दरमा २.५ प्रतिशत विन्दु बढाएको छ । बैंकले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धि (जीडीपी ग्रोथ) रहने अनुमान गरेको छ ।

आरबीआईले पहिलो त्रैमासमा ८, दोस्रो त्रैमासमा ६.५, तेस्रो त्रैमासमा ६ र चौथो त्रैमासमा ५.७ प्रतिशतको जीडीपी ग्रोथको अनुमान गरेको हो । विश्वमा आर्थिक वृद्धिमा भारत द्रुत गतिमा अघि बढेको जनाउँदै गभर्नर दासले भारत विश्वको विकासमा नयाँ इन्जिन बन्न सक्ने बताएका छन् । भारतले मूल्यवृद्धि दर ४ प्रतिशतको सीमामा राख्ने लक्ष्य लिए पनि आरबीआईले चालु आर्थिक वर्ष खुद्रा मूल्यवृद्धिदर ५.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।