
बैंकिङ खबर/आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुला भएको छ । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गर्न लागेको हो।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारण लगानीकर्ताहरुले असार २५ गतेसम्म आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन ४ गतेसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
यसैबीच माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सो शेयरका लागि ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
यसका साथै कम्पनी सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता साधारण शेयर प्रतिकित्ता २०६ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ११ गते हुनेछ भने ढिलोमा साउन २६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनु पर्नेछ।