
बैंकिङ खबर/ ग्रामीण तथा दुर्गम भेगसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले ‘गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ स्थापना गरिएका सहकारीहरु भगुवा र ठगुवा व्यक्तिकै कारण सिंगो सहकारी बदनाम हुन पुगेको छ ।
पछिल्लो समय एकपछि अर्काे सहकारीहरुमा यस्ता व्यक्तिहरुकै कारण जनविश्वास गुम्दै गएको छ भने आम बचतकर्ताहरु सन्त्रासमा छन् । शिव शिखरमा सञ्चालक शर्माद्वारा साढे ११
अर्बभन्दा बढी रकम हिनामिना
सञ्चालकको बदमासीले गर्दा आज शिव शिखर सहकारी चुर्लुम्ब डुबेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष एवम् मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ ।
सिआइवीले सहकारी हिनामिनाको आरोप लागेपछि फरार भएका शर्मालाई पक्राउ गरेको छ । उनलाई यही असार ११ गते नेपालगञ्जबाट पक्राउ गरी सिआइबीले कानूनी कारबाही अघि बढाएको छ ।
उनीसहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय रही नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा एक लाख ६८ हजार सात सय २५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख लाख रकम हिनामिना गरेको आरोप छ ।
यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार एक सय ५४ निक्षेपकर्ता सदस्यले रु एक अर्ब ५४ करोड ७५ लाख रकम प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको छ ।
उक्त रकमको साँवा ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि–नोक्सानी पुर्याएको पाइएको सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
सुमेरु सहकारीः १० अर्ब बढी अपचलन गरीे विदेश पलायन भए सञ्चालक
ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सर्वसाधारणको १० अर्बभन्दा बढी रकम अपचलन गरी विदेश पलायन भएका छन् ।
बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित सञ्चालक भारत महर्जन बेलायत पलायन भएका हुन् । २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी शुरु भएको थियो ।
महर्जनले ३४ हजार भन्दा बढी बचतकर्ताको रकम आफू र परिवारको नाममा कम्पनी खोल्न र सम्पत्ति जोड्न खर्चिएका थिए । महर्जनले व्यक्तिगत र सुमेरु ग्रुप अन्तर्गतका कम्पनीको जग्गा जमिन र सम्पत्ति मात्रै १५ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै देखिएको छ । कतिपय जग्गाको विवरण आएकै छैन । सुमेरुकै नामबाट कालीमाटीमा अर्को सहकारी छ । दुवै सहकारीमा गरी ३४ हजार ७७८ जना बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार ७०२ रुपैयाँ बचत छ ।
यसमध्ये १ अर्ब ९८ करोड ४८ लाख ८९ हजार ५०४ रुपैयाँ मात्रै कर्जा लगानी गरेको रेकर्ड भेटिएको बचतकर्ता तथा सहकारीको सञ्चालक समितिले निकालेको श्वेतपत्रमा उल्लेख छ । बाँकी रकम भने भरत महर्जनका कम्पनी तथा व्यवसायमा मनलाग्दी लगानी भएको छ ।
कालीमाटीको सहकारीमा पनि सुरुमा श्रीमती राजमायालाई अध्यक्ष बनाएका थिए त्यसपछि क्रमशः भान्जा विकास महर्जन र छोरा सचिन महर्जनलाई अध्यक्ष बनाए । सञ्चालक समितिका उपाध्यक्ष तथा सुमेरु साकोसका कार्यकारी प्रमुख वीरु महर्जन, भरत महर्जनका भतिज हुन् । सञ्चालकहरू दिलीप डंगोल र सुनिल डंगोल नाताले उनका भान्जा हुन् ।
यस्तै कालीमाटी सहकारीकी सञ्चालक स्वच्छन्दा मानन्धर समेत उनको नजिकको आफन्त हुन् । गट्ठाघर शाखाका प्रबन्धक सरोज महर्जन, भरतको दाइका छोरा हुन् भने सुमेरु साकोस धापाखेलका प्रबन्धक उज्वल महर्जन भान्जा ।
सुमेरु सहकारीका सञ्चालक समिति र बचतकर्ताले संयुक्त रूपमा निकालेको श्वेतपत्र अनुसार १५ रोपनी १३ आना ३ पैसा एक दाम जग्गा छ । जसको बजार मूल्य १ अर्ब ५२ करोडभन्दा बढी मानिएको छ ।
जनताको रकम आफ्ना निजी कम्पनीहरूमा हत्याएपछि कुनै दिन संकट आउने निश्चित थियो । कोरोना महामारी लगायत कारण आर्थिक प्रणालीमा आएको समस्याले सुमेरुमा त्यो संकट ल्याएको थियो ।
सुमेरु सहकारीले २०७९ पुसदेखि बचतकर्ताको बचत फिर्तामा सिलिङ लगाउन थाल्यो । आफूले दुःख गरेर जम्मा गरेको रकम फिर्ता माग्न आउने बचतकर्ताहरूको लाम लागेपछि सुमेरु सहकारीले कार्यालय खोलेर कारोबार सञ्चालन गर्न सक्ने अवस्था समेत रहेन । त्यही बेला अध्यक्ष भरत भने बेलायत लागेका थिए । सञ्चालक समितिका अनुसार मंसिर २०७९ को चुनाव अघि नै उनी बेलायत गएका थिए ।
निर्वाचनको बेलामा चन्दा माग्न आउनेहरू धेरै हुन्छन् भन्दै सहकारीमा ३०÷४० करोड रकम झिकेर बेलायत गएका थिए । उनी नफर्किंदै पैसा सकियो । उनी फर्किएपछि लेनदेनका लागि भनेर सहकारीमा ३ अर्ब रुपैयाँ बाँकी रहेको पनि सिलिङ तोकेर बचतकर्ताहरूलाई फिर्ता गर्न थालिएको थियो । त्यहीबेला उनी श्रीमतीको उपचारका लागि भारत गए र बेलायत पुगे ।
भरतले करिब साढे २ वर्ष अगाडि श्रीमती राजमायासँग नक्कली डिभोर्स गर्नुका साथै छोराछोरीलाई अंश दिइसकेको समेत खुलेको छ । सहकारी सञ्चालक भरत र उनको परिवार बेलायत पलायन भएपछि बचतकर्ताहरूले ६ वैशाख २०८० मा भेला गरेर समिति बनाएका छन् । समितिले सञ्चालक समितिसँग मिलेर सुमेरु सरकारीको श्वेतपत्र जारी गर्नुका साथै बचत फिर्ताको कार्ययोजना समेत बनाएको छ ।
यी त केहि प्रतिनिधि घटना मात्र हुन् । तर पछिल्लो समय यस्तै व्यक्तिहरुले गर्दा सहकारी संस्थाहरु बदनाम हुने गरेको छ । बचतकर्तामा सन्त्रास फैलिएको छ। आज सहकारीको बचतको रकम सञ्चालक लगायतका व्यक्तिहरुले घरजग्गामा लगानी गर्दा, आफुखुसी चलाउँदा करोडौं रकम डुबेको अवस्था छ ।
सहकारीको मूल्य मान्यता नबुझ्दा सहकारीहरुप्रति हेर्ने मान्छेको दृष्टिकोण नै फरक हुन थालेको छ । कुनै व्यक्तिहरुबीचमा सहकारीको सदस्य बन भन्नै डराउनुपर्ने अवस्था आएको छ । विश्वास गरिएका नामकारी सहकारी नै यसरी ठगेर भाग्दा साना सहकारीहरुप्रति झन् जनविश्वास गुम्न थालेको छ ।
ग्राहकले गर्नुपर्ने कतव्र्य
सहकारीका बचतकर्तालेपनि ठूलो देखेर मात्र नभइ सहकारीको अवस्थाबारे राम्रोसँग बुझेर बचत गर्नुपर्ने देखिन्छ। आर्थिक स्वास्थ्यबारे अध्ययन गर्नुपर्ने हुन्छ ।
सहकारीले साधारण सभा समयमा गरेको छ कि छैन, आफ्नो पैसा भएको संस्थाले कता केमा लगानी गरिरहेको छ, वित्तीय स्थिति के छ, त्यो ख्याल गरेर पैसा जम्मा गर्नुपर्ने देखिन्छ। सहकारीले आफ्नो बचतको रकम नदिए वा आनाकानी गरे बचतकर्ता सदस्यले सम्बन्धित निकायमा उजुरी गर्नुपर्दछ ।




