Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

२०८० असार १३ गते

बैंकिङ खबर/अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरीरहेको २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.९१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २९ वर्ष ७ महिना बाँकी रहेको छ।

Ad