June 21st, 2023

यी हुन् घोराही सिमेन्ट आइपीओमा आवेदन दिने फर्जी आवेदक(सूची)

बैंकिङ खबर/ घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का भइ सकेको छ । धितोपत्र बोर्डले आइपिओ निष्कासन गरेको तत्काललाई निर्देशन दिएसँगै आइपिओ रोकिएको छ । कम्पनीको सेयरमा १२ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि बढी कित्ता सेयरको लागि आवेदन दिएका थिए ।

केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे–नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो। रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासनमा समेत रोक्न लगाएको हो।

कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयर समेत बिक्री भएको थिएन। तर, सर्वसाधारणको लागि जारी गरेको सेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति सोमबार थपेको थियो। बोर्डले आइपीओ बिक्री प्रक्रिया स्थगित गर्ने समयसम्ममा भने घोराही सिमेन्टको आइपिओमा ९ अर्ब ८३ करोड ८५ लाख ५५ हजार ९५० रुपैयाँ बराबरको आवेदन परेको थियो ।

सीडीएसका अनुसार असार ४ गते साँझ ४ः४५ बजेसम्ममा ५ लाख ६२ हजार ४३ जना सर्वसाधारण लगानीकर्ताले २ करोड २६ लाख १७ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३.२७ गुणा बढी आवेदन हो । तर, कम्पनीको सेयरमा आवेदन दिएकामध्ये ६५ हजार १७० वटा आवेदनबाट ८५ लाख कित्ताको आवेदन रिजेक्ट भएको सीडीएसले जनाएको छ ।

कम्पनीले जेठ ३२ गते देखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आइपिओ खुला गरेको हो ।

यी हुन् ‘फर्जी’ आवेदन

आइपिओमा १० लाख कित्ताका दरले १२ जनाले ‘फर्जी’ आवेदन दिएका थिए । आइपिओमा ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको आवेदन रिजेक्ट भएको छ । खातामा पैसा नभई आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर–१ का उज्जवल आचार्य, प्रेमप्रसाद आचार्य र मध्यपुर ठिमी नगरपालिका–३ की श्रीजा पोखरेल रहेका छन् ।

गोरखाको सिरानचोक–३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी–१ की मुना खत्री र चितवनको भण्डारा–१ का मनोज पाठक रहेका छन् । सुनसरीको देवानगन्ज–१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु–३ का नवीन खत्री, ललितपुरको टिकाथली–५ का अनिल राना, पर्वतको कार्कीनेटा–३ की रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरका सुमित्रा बम रहेका छन् ।

अख्तियारद्वारा अनुसन्धान

‘फर्जी’ आवेदन दिने लगानीकर्ताको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । कम्पनीमा सर्वसाधारणलाई भ्रमित पार्ने गरी १० लाख कित्ताका दरले आवेदन दिने १२ लगानीकर्ताको विवरण अख्तियार पुगेको हो ।
जेठ २१ देखि सर्वसाधारणका लागि खुला गरिएको घोराही सिमेन्टको आईपीओमा १० लाख कित्ताका दरले १२ जनाले ‘फर्जी’ आवेदन दिएको पाइएपछि अख्तियारले कागजात मगाएको छ । १० लाख कित्ताका लागि आवेदन दिँदा बैंक खातामा कम्तीमा ४३ करोड ३५ लाख हुनुपर्नेमा कम पैसा भेटिएपछि उनीहरुको आवेदन भने रिजेक्ट भइसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]