तिहारपछि कारोबार खुलेको पहिलो दिन सेयर बजार साढे दुई अंकले बढेर १७६२.२१ अंकमा पुगेको छ । कारोबार रकममा भने सुधार देखिएको छैन । विहीबार ५३ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । दिनभरिमा एक सय २१ वटा कम्पनीको आठ लाख ७२ हजार चार सय २१ कित्ता सेयर तीन हजार दुई सय ७१ पटक खरिदविक्रि हुँदा कुल ५३ करोड ८५ लाख सात हजार दुई सय २३ रुपैयाँको कारोबार भएको हो ।
बैंकिङ, विकास बैंक र फाइनान्स समूहले विहीबारको सेयर बजार बढाएका हुन् । यी तीन समूह क्रमशः ३.४९, २६.११ र ०.७३ अंकले बढेका छन् । होटल, जलविद्युत्, बीमा र अन्य भने क्रमशः ७.९७, ६.१३, ३१.२१ र ९.८३ अंकले घटेका छन् ।
सिभिल बैंकको विहीबार सबैभन्दा धेरै ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । छिमेक लघुवित्तको पाँच करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ भने लुम्बिनी जेनेरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक र एभरेष्ट बैंकको तीन करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको झन्डै ती करोडको कारोबार हुँदा बैंक अफ काठमाण्डू लिम्बिनी, नविल बैंक प्रोमोटर, सिद्धार्थ इन्स्योरेन्स र नविल बैंकको एक करोडमाथिको कारोबार भएको छ ।
एनएमबी माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले ९.९८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक, सृजना फाइनान्स, छिमेक लघुवित्त र मुक्तिनाथ विकास बैंकका सेयरधनीले क्रमशः ८.९८, ७.८८, ७.३५ र ६.८५ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्स, अपि पावर कम्पनी, सिभिल बैंक, स्वाबलम्बन विकास बैंक लगायतका सेयरधनीले पनि राम्रो कमाइ गरेका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा मितेरी डेभलपमेन्ट बैंक छ, जसका सेयरधनीले ६.९१ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स, ङादी ग्रुप पावर, कामना विकास बैंक, युनाइटेड इन्स्योरेन्स, माछापूछ्रे बैंक, मेगाा बैंक, यती डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



